रवि लामिछाने निर्दाेष रहेकाे प्रचण्डकाे दाबी, अब सबै भ्रष्टाचारकाे फाइल खाेल्ने घाेषणा [भिडियाेसहित]

रवि लामिछाने निर्दाेष रहेकाे प्रचण्डकाे दाबी, अब सबै भ्रष्टाचारकाे फाइल खाेल्ने घाेषणा [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

प्रधानमन्त्री प्रचण्डले गरे गृहमन्त्रीको बचाउ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको मोटो रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने गृहमन्त्रीको बचाउ गरेका छन्।

मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमाथि अनुसन्धान गर्नु नपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका हुन्।

उनले भने, ‘हालसम्म अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन।’ तर, यसमा कांग्रेसले चित्त भने बुझाएको छैन।

रवि लामिछानेले दिए कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न चुनौती

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न चुनौती दिएका छन्।

उनले मंगलबार संसद बैठकबाट निस्किने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो चुनौती दिएका हुन्। संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कांग्रेसको अधिकारको कुरा भएको उनको भनाई छ।

सरकारले जुनसुकै कालखण्डको भ्रष्टाचारमाथि अनुसन्धान गर्ने घोषणा

सरकारले जुनसुकै कालखण्डको भ्रष्टाचारमाथि अनुसन्धान गर्ने घोषणा गरेको छ। मंगलबार पाँच दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत र साझा सङ्कल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने उल्लेख गरिएको हो । साथै जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ऋणको पासो’ भनेपछि काठमाडौंस्थित चिनियाँ दूतावास असन्तुष्ट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ऋणको पासो’ भनेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले असन्तुष्टि व्यक्त गरेको छ।

चिनियाँ दूतावासका प्रवक्ता यू पेङ्चेनले नेपालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वागत गरिएको र पोखराबासीको आधा शताब्दीदेखिको सपना साकार पार्न मद्दत गर्ने महत्वपूर्ण परियोजनालाई ऋणको पासो भनेर दुष्प्रचार भएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले यो विकासोन्मुख देश र चीनबीचको सहकार्यमा दरार ल्याउने केही शक्तिको प्रयास मात्रै भएको बताएका छन्।

महिन्द्रराय यादवसहितलाई पदमुक्त

नेपाल समाजवादी पार्टी नेसपाको छैठौं पूर्ण बैठकले अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ।

पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकोमा पदमुक्त गर्ने निर्णय गरेको हो।

दुर्गा प्रसाईं बडिगार्डलाई विनाकारण पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगे

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्ना बडिगार्डलाई विनाकारण पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन्। प्रसाईं बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

प्रारम्भिक सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ। प्रसाईंका दुई जना बडिगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो।

इजाजत दिएका हतियारको विवरण पठाउन गृह मन्त्रालयले मातहतका निकायलाई गर्याे निर्देशन

इजाजत दिएका हतियारको विवरण पठाउन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ।

हिजो सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबीस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय गरेको हो।

आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गरायाे

आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार अर्थ मन्त्रालयले १० करोड खर्च गर्न अनुमति दिएको हो।

सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट छुट्ट्याएको छैन। वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदैछ।

गृहमन्त्री लामिछानेले मन्त्रालयमा फर्किएपछि पहिलोपटक सरुवासम्बन्धी गरे कार्यविधि संशोधन

उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने मन्त्रालयमा फर्किएपछि आफूले पहिलोपटक जारी गरेको सरुवासम्बन्धी कार्यविधि संशोधन गरेका छन्।

एक वर्षअघि गृहमन्त्री भएपछि उनले मन्त्रालयका अधिकारीको सरुवासम्बन्धी नयाँ मापदण्ड जारी गरेका थिए। तर, नागरिकता प्रकरणका कारण उनी पदमुक्त भएपछि कार्यविधि कार्यान्वयनमा जान सकेको थिएन। पद सम्हालेलगत्तै उनले पुन कार्यान्वयनको प्रक्रिया अघि बढाएका हुन्।

प्राध्यापक धर्मराज विष्टको हत्या

काठमाडौंको बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल ललितपुर बस्ने ४१ वर्षीया सबिता थापा रहेकी छन्।

विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

मंगलबार नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

मंगलबार नेप्से परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो।

मंगलबार तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गर्दै

गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताएका छन्। समस्याको समाधानका लागि गाजामा सहायता सामग्रीको बढीभन्दा बढी ढुवानी आवश्यक रहेको उनको भनाई छ।

ब्लिन्केनको यो भनाइ मध्यपूर्वका साउदी अरब र इजिप्टमा गाजा युद्धविरामको लागि प्रयास र सहायता वितरण बढाउने प्रयासको बारेमा छलफल गर्न फर्कने तयारी भइरहँदा आएको हो ।

एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना छः आईसीसी अध्यक्ष ग्रेग

नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी अध्यक्ष ग्रेग बारक्ले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्रोत र साधनको प्रयोगमा पनि नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताएका छन्।

पहिलोपटक नेपाल आएका उनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङसँगको भेटमा यस्तो बताएका हुन्। उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Logo