महरा पक्राउ पर्दा बाबुरामलाई तनाव, ठमेललाई २४ सै घण्टा खुलाउन गृहमन्त्रीको निर्देशन [भिडियाेसहित]

महरा पक्राउ पर्दा बाबुरामलाई तनाव, ठमेललाई २४ सै घण्टा खुलाउन गृहमन्त्रीको निर्देशन [भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको बाबुराम भट्टराईकाे टिप्पणी

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री प्रचण्डले जालसाजी गरेको टिप्पणी गरेका छन्।

अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उनले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको भट्टराईको आरोप थियो।

उनले ७० प्रतिशत केन्द्रीय सदस्य र २ तिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी समेत गरेका छन् । साथै उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकोमा शंकासमेत व्यक्त गरेका छन्।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन्।

उनले भनिन् ‘छानबिन समिति गठन गर्न किन डराउनुपर्यो ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।’

काठमाडौंका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरुमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं । काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफलतातिर गइरहेका छौं । यसबारे सोच्ने बेला आएको छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन भएका छन् । राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए ।

मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् । जसलाई सभाले स्वीकृत गरेको छ ।

हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँकाे अनुमति

सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड हुन्।

ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागिएको हो । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।

एसईईको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

चैत १५ गतेदेखि २७ गतेसम्म चल्ने परीक्षामा देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। योपटक देखि परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था छ।

चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो।

गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको थियो। अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए। तर, उनलाई चिकित्सकले मृत घोषित गरे ।

बुधबार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम

बुधबार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो। विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ। कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।

वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको गर्याे दाबी

वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन्। सङ्क्रमित कोषलाई एचआईभीमुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बीबीसीले जनाएको छ।

वैज्ञानिकहरूले पूरै शरीरलाई एचआईभीमुक्त पार्न सकिने आशा व्यक्त गरेका छन् । तर त्यसो गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

एन्फाले आफ्ना ८ जना प्रतिनिधिलाई बहराइन पठायाे

विश्वकप तथा एसिया कप फुटबलको छनोटको लागि बहराइनमा रहेको नेपाली फुटबल टोलीको खेल हेर्न एन्फाले आफ्ना ८ जना प्रतिनिधिलाई बहराइन पठाएको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अनावश्यक रुपमा आर्थिक भार पर्ने भन्दै ८ प्रतिनिधिको भ्रमण नगराउन एन्फालाई निर्देशन दिएको थियो । तर एन्फाले राखेपको निर्देशन लत्याउँदै आफ्ना ८ प्रतिनिधिलाई बहराइन पठाएको पाइएको हो ।

टी-२० शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुने टी-२० शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको छ। टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामीलगायत छन्।

नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र १२ गते टी२० खेल खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्नेछ।

Logo