‘भाइरल बन्ने बहानामा लोक दोहोरीको मर्म हराउँदैछ’

‘भाइरल बन्ने बहानामा लोक दोहोरीको मर्म हराउँदैछ’

‘पछिल्लो समय दोहोरी गीतको संस्कार र संस्कृतिकै उपहास भइरहेको छ। शैली र संस्कारलाई नतोड्ने हो भने दोहोरी त्यसै शृङ्गारिक र राम्रो बन्छ।’

केन्द्रबिन्दु
798
Shares

कृष्ण समिप सुवेदी नेपाली लोक संगीतका क्षेत्रमा परिचित नाम हो। ०६४ साल ताका ‘सिरसिर बतास’ नामक लोक तथा दोहोरी गीतबाट उचाइ लिएका उनले आधुनिक, लोक आधुनिक, लोकपपलगायतका विधामा भूमिका निर्वाह गरिसकेका छन्। पर्वतमा जन्मेहुर्केका कृष्णले हालसम्म तीनसय बढी गीतमा संगीत एवम गायन भरिसकेका छन्। रेडियोकर्मीको समेत परिचय बनाएका सुवेदीसँग गरिएको कुराकानी:

सांगीतिक क्षेत्रमा आउने मोह कसरी जाग्यो ?
गाउँमा हुने भजन, किर्तन, क्लव र स्कुलमा हुने सांस्कृतिक कार्यक्रम, तीज पर्वमा आयोजना गरिने सांगीतिक कार्यक्रमबाट बढी प्रभावित भएको हुँ। विशेषगरी त्यतिबेला महोत्सव भन्ने हुँदैन थियो। चाडपर्वको समयमा गरिने रमाइलो र सबैभन्दा ठूलो प्रेरणाको स्रोत रेडियो नेपाल नै हो। म त्यतिबेला रेडियो नेपाल अत्याधिक सुन्थें रेडियो नेपालमा गीत सुन्दासुन्दा म भित्र भएको कलाको मूल पनि फुट्यो भनौ। त्यतिबेला आफू गायक बन्नसक्छु भन्ने थाहा थिएन। कुनैबेला खेतबारीका कान्ला मुन्तिर बसेर, कहिलेकांही साथीहरुसँग बसेर गीत गाउने गरेको हुँ।

स्कुलमा आयोजना हुने कार्यक्रममा पनि जानी नजानी बाँसुरी बजाउँदा सबैले हौस्याउँथे। सबैले कलाकार बन्न काठमाडौं जानुपर्छ भनेर हौसला दिन्थे। खासमा हामी संस्कृतिमा धनी छौं, त्यसकै माध्यमबाट हामीभित्र भएको कला चेतलाई बाहिरी वातावरणले प्रस्फुटन गर्न गराउन मद्दत गर्ने रहेछ। यस्तै यस्तै कारणले म संगीतको दुनियामा आएको हुँ।

मैंले गीतहरु त धेरै गाए तर मलाई कृष्ण समिप सुवेदी भनेर चिनाउने गीत चाँही २०६४ सालमा गाएको ‘शिरशिर बतास’ नै हो। यो अहिले पनि मलाई यत्तिकै प्रिय लाग्छ। ‘मनको घाउ’, ‘माझिदाईको जिन्दगी’ सदावहार नै हुन भन्ने लाग्छ। यी गीतहरु एकदम चलेका हुन् तर स्टेजमा कम गाउनेमा पर्छन। लोक गीतको हकमा ‘जोर बत्ती पालैमा’, ‘हेर ऐनामा’, ‘हावा चलोस, पात नझरोस’ ‘तिम्रै सपनि’, ‘ओ माया बोलन’, ‘सलल कालीगंगा’ लगायतका धेरै यस्ता मेरो आफ्नै शब्द संगितका चलेका गितहरु हुन्। त्यसपछि ‘मनको तिर्खा मेट्न’ आधुनिकमा ‘कल्पनामा आउने मान्छे तिमी’, ‘पोखरा जाने घुम्ती छ बाटो’ हुन्। स्टेजमा त, ‘चल्न माया चल’ जस्ता गीत नै बढी गाइन्छ।

रेडियो नेपालमा बजेका गीत सुनेर पनि गीत संगीतमा आएको भन्नुभयो। रेडियो नेपालमा तपाइँले सुन्ने स्वरहरु स्मरणमा छन् ?
त्यतिबेला रेडियो नेपालमा नारायण गोपाल, भक्तराज आचार्य, नातिकाजी, गोपाल योञ्जनहरुका गीत गुन्जिन्थे। उहाँहरुलाई नै अग्रज मानेर सुन्थें। त्सपछिको पुस्तामा पनि लोक विधामा विशेषगरी लोकबहादुर क्षेत्री, प्रविण गुरुङ, बम बहादुर कार्की, हरिदेवी कोइराला दिदीहरुका स्वर गुञ्जन्थे। यस्तै, आधुनिक विधातिर, प्रकाश श्रेष्ठ , रामकृष्ण ढकाल, यम बराज, राजेश पायल राईहरुका गीत बजिरहन्थ्यो। मैंले धेरै नै सुनेका कलाकारहरुमा उहाँहरु पर्नुहुन्छ। त्यसपछि विस्तारै आफूलाई पनि गीत गाउन जानुपर्छ भन्ने भयो हौसला आयो।

संगीतमा विभिन्न विधाहरु छन्। तपाईं पछ्याउने विधाका बारेमा दर्शक स्रोताहरु रनभुल्लमा छन है ?
मैले विशेषगरी गाउने भनेको लोक लय नै हो। त्यो भित्र कहिले काहीं लोक आधुनिक शैली, लोक पप शैली, कहिले लोक दोहोरी शैली पनि अवस्था हेरेर गाउँदै आएको छु। म पर्वतबासी परें। हिजो क्षेत्रमा सालैज्यु, यानीमाया र कौडाहरु हरेक पर्वमा गाउने प्रचलन थियो। औंसी, पूर्णिमा, शिवरात्री जस्ता पर्वमा अधिकांश समय भजन गाइने गरिन्थ्यो। भजनभित्र, चुड्का, रोइला जस्ता शैलीमा गाइने हुनाले म चाँही लोक लयमै भिजेको मान्छे हुँ। उतातिर जस्तो किसिमको लोकलय र संस्कृति छ मेरा गीतले लोकलाई समातेको छ। गायन शैली अलि फरक वा मिश्रित गरेर गाउँछु । तर, विद्यार्थी चाँही म लोकलयकै हुँ।

पछिल्लो समय लोक गीतका दर्शकस्रोता बढेको पाइन्छ। साथसाथै लोकगीत गायनको शैली र शब्दहरुले समाज भड्किलो र उछ्शृङ्खल बन्दै पनि गइरहेको छ। यसलाई कसरी हेर्नुहुन्छ ?
लोकगीत भनेको हाम्रो संस्कृति हो। हिजोको रोधी घरबाट जन्म भएको सवाल–जवाफको विधा दोहोरी नेपाली कला, भेषभुषा, रहनसहन, भाषाशैली, भाव भङ्गि सम्पूर्ण शब्द र लयमा प्रतिविम्वित गरेर व्यक्त गरिएको कुरा हो। पछिल्लो समय लोक दोहोरी भनिएको छ, त्यसमा पनि लाइभ भनिन्छ तर पहिल्यै सुट गरिएका हुन्छन्। दोहोरी एक पक्षले सवाल गरेर दोस्रोले जवाफ दिइसकेपछि पुनः प्रश्न सोध्ने विधा हो भनेर चिनिन्छ। अहिले भाइरल बन्ने हेतुले दोहोरीको मर्ममै असर पुग्ने खालका प्रस्तुती दिने र गराउने प्रवृत्ति बढेको छ। लाइभ दोहोरीको नाममा भाइरल हुन गरिएको भ्रमपूर्ण सांगीतिक प्रस्तुति, त्यहाँ प्रयोग गरिएका शब्द, भाषा र भेषभूषा समेत उपयुक्त छैनन्। दोहोरी गाउँदा गाउँको जस्तो सबै कुरा गर्न नसकिएला, सर्ट पाइन्ट लगाएरै दोहोरी गाए पनि सुन्ने जमात छन्। कसैको रोकतोक पनि छैन। तर, भेषभूषा समेत अंग प्रर्दशन गर्ने र त्यस्तै भाषा शैलीको प्रयोग बढ्दो छ। त्यसलाई के भनौं ? टिप्पणी गर्न पनि असहज लाग्छ।

यो भाइरल बन्ने प्रवृत्तिले दशकौं साधना गरिरहेकाहरु त ओझेल पर्ने भए नि ?
हरेक बर्खामा नयाँ नयाँ भेल आउँछ भनेजस्तो हरेक समयमा नयाँ नयाँ पात्र यो क्षेत्रमा आएर चर्चा कमाउँछन्। कति राम्रो गाएर पनि चर्चा कमाएका छन् भने कतिपयले उही भाइरल बन्ने नाममा कला संस्कृतिमाथि नै प्रहार गरिरहेका छन्। यहाँ कोही नयाँ पात्र आएर भाइरल भयो। चर्चा धेरै कमायो भन्न खोजिएको होइन, तर भाइरल हुनेहरुको छायामा दशकौ देखि यो क्षेत्रमा साधना गरिरहेका कलाकारहरु भने पछि परेका छन्। भाइरलहरु आउँछन् जान्छन् भन्नु हुँदैन्, एउटा पात्र आएर सेलाएपछि अर्को पात्र फेरी आउँछन् र यो क्रम चलिरहन्छ। लामो समयबाट साधना गरिरहेको कलाकार साइडमा नै थन्किन्छ। यो एउटा खड्किएको विषय हो। पछिल्लो समय दोहोरी यति फोहोरी भयो नि प्रत्येक शब्दमा दोअर्थ लाग्ने मात्रै गाउँछन्।

सबैभन्दा धेरै देखिएको भनेको नै दोअर्थी शब्दको प्रयोग हो। सिर्जनाले कौतुहलता ल्याउँछन्, रवि नपुग्ने ठाउँमा कवि पुग्छन् भन्नेमा कुनै शंका छैन। तर पछिल्लो समय दोहोरीमा देखिएको यस्ता प्रवृत्तिले दोहोरी संस्कार र संस्कृतिकै उपहास भैरहेको छ। शैली र संस्कारलाई नतोड्ने हो भने दोहोरी त्यसै शृङ्गारिक र राम्रो बन्छ। अहिले जे भैरहेको छ, आज हामीले परिवारसँगै बसेर हेर्न सक्ने अवस्था छैन। यसले भोलिको पुस्तालाई के सिकाउने ? संस्कार बिग्रिएपछि संस्कृति बिग्रिन्छ, संस्कृति बिग्रिए संस्कार नासिन्छ र प्रकृति बिग्रिए संसार नासिन सक्छ। त्यसैले संस्कृति र प्रकृति दुबैको रक्षा गर्नुपर्ने समय भएको छ।

कलाकारहरू आम्दानी र सम्मानको लागि विदेश पुगेर गीत गाउँछन्। मेला महोत्सवमा मनोरन्जन दिन्छन। तर सुरक्षा र सम्मान छैन भन्ने गरिन्छ। यथार्थ के हो ?
मेला, महोत्सव र बाहिरी कार्यक्रमहरु भएन भने कलाकारको बाँच्ने आधार नै हराउँछ। त्यस्ता कार्यक्रम कुन हिसाबले गरिन्छ भन्ने कुराले अर्थ राख्छ जस्तो लाग्छ। मेला महोत्सव कसले कसरी आयोजना गर्छन, त्यहाँ पनि भाइरल प्रस्तुतिलाई हेरिन्छ कि असल साधनारत कलाकारलाई लगिन्छ ? कि चलन चल्तीका कलाकारलाई हेरिन्छ, भन्ने आधारहरुले फरक पार्न सक्छ। कहींकतै स्टेज कार्यक्रम गर्दा वा मेला महोत्सवमा कलाकारको अपमान भएको होला तर कलाकारले मेला महोत्सवमा दिने प्रस्तुति अप्रिय हो जस्तो लाग्दैन। अर्को कुरा त्यस्ता कार्यक्रमा आफ्नो च्यानल र पहुँचका भरमा भन्दा पनि सबै कलाकारले अवसर पाए हुन्थ्यो भन्ने लाग्छ। मेला महोत्सवमा ट्रयाक सिस्टमको पनि कुरा आउँछ, अर्केस्टा सिस्टममा मेला महोत्सव हुनुपर्छ भन्ने लाग्छ। बाजासहित वरीपरि कलाकारहरु बसेर लाइभ गाउन सक्ने हो भने बल्ल असल कलाकारहरुले ठाउँ पाउँछन्। देश विदेशमा जति पनि कार्यक्रमहरु हुने गर्छन, त्यसमा सामुहिक बाद्यवादनसहित लाइभ दोहोरी गाउने परिपाटीको विकास गरौं भन्ने आग्रह गर्न चाहन्छु। त्यति भएपछि राम्रो कलाकारले यसै ठाउँ पाउँछन्।

तपाइँका गीतहरुका बारेमा चर्चा गरौं न।
मेरो आफ्नै चर्चामा रहेका गीततहरुको कुरा गर्ने हो भने त्यसमा दुई धार पाउँछु। एकथरी गीत धेरै चलेका छन्। स्टेजमा दर्शक नचाउन नसक्ने छन् तर अर्को कम चलेका छन् स्टेजमा बढी रोजाइमा पर्ने खालका छन् । हालै मात्र मैले नयाँ गीत ‘बैशालु फूल’ लिएर आएको छु। यसको आफ्नै विशेषता छ। अंग्रेजीमा रेगे भनिने तर नेपालमा र्यागी गीत पनि मेरो धेरैले रुचाउनुभएको छ। नेपथ्य, ब्रोसिस व्याण्डले ल्याएका कतिपय गीतहरु र्यागी छन् जसले मलाई एकदमै छोएको छ। यस्ता गीतहरु कहिल्यैं पुरानो हुँदैनन। त्यसैले एक वर्ष अगाडि मैले ‘भन्दे बतास’ ल्याएको हुँ। ‘लाहुरे दाइको भरुवा बन्दुक, बन्दुक पड्क्यो भएन मन ढुक्क, ए भन्दे बतास, मेरो दिलैमा बसेको मान्छे कता छ’ …. मन परेरै गाएको हुँ।

Logo