‘ऐना’ सामाजिक मुद्दामाथिको सशक्त ‘टेलिभिजन शो’ आउँदै

‘ऐना’ सामाजिक मुद्दामाथिको सशक्त ‘टेलिभिजन शो’ आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टेलिभिजन कार्यक्रम ऐनाको लोगो सार्वजनिक भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम ऐनाको लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र ऐना टिमबारे जानकारी दिइएको हो ।

दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने २६ एपिसोडको कार्यक्रम ऐना सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा टेलिभिजन शो हो । कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट ०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुनेछ ।

कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले ऐना विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए । देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रुपमा कार्यक्रम ऐना तयार हुनेछ ।

यस्तै, निर्देशक अमनप्रताप अधिकारीले नेपाली समाजमा मानिसका अथाह दुःख र पीडा छन् ती घटनाका रुपमा त आउँछन् तर किन यस्तो भइरहेको छ भन्ने खोजीमा कार्यक्रम निर्माण गर्न लागिएको बताए । कार्यक्रमका प्रोड्युसर जनक पौड्यालले सामाजिक र मानवीय सवालहरु जसले व्यक्ति, परिवार, समुदाय वा राष्ट्रलाई कस्तो असर पारिरहेको छ भन्ने यथार्थ चित्र प्रस्तुत गर्नु नै कार्यक्रम ऐनाको उद्देश्य भएको बताए।

समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परावादी सोच आदिले किन मान्छेलाई सभ्य बन्न दिइरहेको छैन ? किन र के हो त्यसको जड ? यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ऐनाको हुनेछ । कार्यक्रममा कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डीसीले ऐनालाई सफल बनाउन कान्तिपुर मिडिया ग्रुपले यथासम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम ऐनाको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक लिमिटेडका डेपुटी सीईओ महेश ढकालले सामाजिक र मानवीय विषय केन्द्रित टेलिभिजन सो ऐनालाई प्रायोजन गर्नु व्यापारिक उद्देश्य मात्र नभई सामाजिक उत्तरदायित्वको विषय भएको बताए । ऐनाको सहप्रायोजन सिजी इलेक्ट्रोनिक्सले गर्नेछ भने कार्यक्रमको पावर्ड बाइमा आइएनजी ग्रुप तय भइसकेको छ ।

कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमाथि अनुसन्धान र स्थलगत रिपोर्टिङका लागि देशभरि २८ जना अनुसन्धानकर्ता सक्रिय छन् । ऐनाको प्रोजेक्ट हेडमा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरि, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन् ।

Logo