काँग्रेसको गण्डकी सम्मेलनः संविधान संशोधन गर्न माग

काँग्रेसको गण्डकी सम्मेलनः संविधान संशोधन गर्न माग


नेपाली काँग्रेसको गण्डकी प्रदेश सम्मेलनले संविधान संशोधन गर्न माग गरेको छ। संविधानमा रहेको धर्मसम्बन्धी व्यवस्था र निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै सम्मेलनले काँग्रेसले नेतृत्व लिएर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो। 

सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा संविधानमा रहेको ‘धर्म निरपेक्षता’को ठाउँमा ‘वैदिक सनातन धार्मिक स्वतन्त्रता’ राख्नुपर्ने र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग छ। त्यस्तो संशोधनको नेतृत्व कांग्रेसले गर्नुपर्ने सम्मेलनको निणर्य छ। 

प्रदेश सम्मेलनले पार्टीको विधानमा रहेका थुप्रै व्यवस्थाहरू संशोधन गर्नुपर्ने माग गरेको छ। पार्टी विधानमा भएको लोकतन्त्रको ठाउँमा प्रजातन्त्र लेख्नुपर्ने प्रस्ताव रहेको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए। उनका अनुसार सम्मेलनले पार्टीका केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नुपर्ने माग गरेको छ। 

हाल काँग्रेसमा केन्द्रीय कार्यसमितिका सदस्यहरूले स्वतः महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ। गण्डकी सम्मेलनले भने विधानको त्यस्तो व्यवस्था खारेज गर्दै हरेक महाधिवेशनमा केन्द्रीय सदस्यहरू पनि वडादेखि नै निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने र निर्वाचित भएर आउनुपर्ने व्यवस्था गर्न माग गरेको हो।

‘एकपटक महाअधिवेशन प्रतिनिधि बनेर केन्द्रीय सदस्य बनेको नेता फेरि गाउँ फर्किँदैनन्। नेता र कार्यकर्ताको बीचमा दुरी बढ्यो,’गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भने,‘हामीले नेता र कार्यकर्ताका बीचको दुरी घटाउन यस्तो प्रस्ताव पास गरेका हौँ। अब यो विषय महासमिति बैठकमा लैजान्छौँ।’

सम्मेलनले एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ। पार्टीले नैतिक शिक्षा, निःशुल्क स्वास्थ्य, भ्रष्टचारको अन्त्य र रोजगारी तथा सुशासनलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने, क्रियाशिल सदस्यको वितरणलाई सरलीकरण गर्ने, पार्टीमा रहेको बहुपदीय पदाधिकारी व्यवस्थालाई खारेज गर्ने, प्रदेश समितिलाई अधिकार सम्पन्न बनाउँदै लैजानुपर्ने र प्रदेश संरचनाका टिकट प्रदेश समितिबाटै वितरण हुने गरी वैधानिक व्यवस्था गर्नुपर्ने सम्मेलनको निणर्य छ। 

पुस ३ र ४ गते प्रदेश राजधानी पोखरामा भएको सम्मेलनमा प्रदेशका ११ जिल्लाका काँग्रेस नेता कार्यकर्ता सहभागी थिए। सम्मेलनमा सभापति शुक्रराज शर्माले पार्टीको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने महामन्त्री किरणबावु श्रेष्ठले संगठनात्मक प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

त्यस्तै, कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए। सम्मेलनले ती प्रतिवेदनहरू पारित गरेको छ भने सम्मेलनका निणर्यहरूलाई पार्टीको सम्पत्तिकारुपमा ग्रहण गरी महासमितिमा प्रस्ताव बनाउन आग्रह गरेको छ। 

काँग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरमा हुँदैछ। महासमिति बैठकअघि जिल्ला र प्रदेशले सम्मेलन गरिरहेका छन्। लुम्बिनी, गण्डकी, बाग्मती र मधेशले प्रदेश सम्मेलन गरिसकेका छन् भने अब कोशी, कणर्ाली र सुदूरपश्चिमले सम्मेलन गर्दैछन्।

Logo