काठमाडौं ।
फिल्म संस्कृतिको विकासको निम्ति आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) तेस्रो संस्करणमा टर्कीको ‘ट्रयाप’ फिल्म उत्कृष्ट घोषित भएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको समारोहमा सिविद कोलेकको ‘ट्रयाप’ ले महोत्सवमा उत्कृष्ट हुँदै १५ सय अमेरिकी डलर जित्यो । यो फिल्म टर्कीको एक टापुमा माछा मारेर जीवनयापन गरिरहेका पाँच माझीमध्ये एक्कासी एक जना हराउँदा उत्पन्न भएको तनावग्रस्त घटनामा आधारित छ।
समारोहमा बहुपति प्रथाको कथामा आधारित गणेश पाण्डेको ‘को–हस्बेन्ड’ ले डकुमेन्ट्री विधातर्फ उत्कृष्ट हुँदै एक हजार अमेरिकी डलर प्राप्त गरेको थियो।
एनिमेटेड विधातर्फ चीनको ‘स्प्रिट अफ द ड्रइङ गर्ल’ उत्कृष्ट हुँदै सात सय अमेरिकी डलर जित्न सफल भयो । भारत र पाकिस्तानको सिमामा एक युवतीले भोगेको पीडामा आधारित ‘नुरी’ अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधामा उत्कृष्ट हुँदै पाँच सय अमेरिकी डलर जित्यो । यसमा बोर्डरमा चेपिएकी एक युवतीको कथा समावेश गरिएको थियो।
नेपाली फिल्म ‘बुलबुल’ ले नेपाल पानोरमाको उत्कृष्ट फिचर फिल्म, निर्देशक, पटकथा, अभिनेत्री र जुरी अवार्ड (महिला र पुरुष) सहित ६ वटा विधामा अवार्ड जितेको थियो। सो फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशक, स्वस्तिमा खड्काले अभिनेत्री र जुरी अवार्ड लक्ष्मी बर्देवा र मुकुन भुषालले जितेका थिए । त्यस्तै निर्देशक दीपेन्द्र लामाको ‘गोपी’ फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी, अभिनेता विपिन कार्की र सिनेमेट्रोग्राफर शैलेन्द्र डि कार्कीले अवार्ड जितेका थिए ।
नागरिकबाट































प्रतिक्रिया