कांग्रेस असन्तुष्ट पक्षको बैठक, सशक्त ढंगले प्रस्तुत हुन वार्ता टोलीलाई निर्देशन

कांग्रेस असन्तुष्ट पक्षको बैठक, सशक्त ढंगले प्रस्तुत हुन वार्ता टोलीलाई निर्देशन


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आफ्नो वार्ता टोलीलाई संस्थापन पक्षसँगको छलफलमा सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको असन्तुष्ट पक्षले संस्थापन पक्षसँग छलफल गर्न पुर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरू हृदयराम थानी र दिलेन्द्र बडु सम्मिलित वार्ता टोली बनाएको थियो ।

बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा आज झण्डै ५ घण्टा बसेको असन्तुष्ट पक्षको बैठकले वार्ता टोलीलाई सबै तहका अधिवेशन हुने कार्यतालिका सुनिश्चित हुने गरी सहमति खोज्न निर्देशन दिएको हो ।

यस्तै भ्रातृ संगठनहरू नेविसंघ र तरुण दलको तदर्थ समिति बनाउँदा दुई संगठनमध्ये एउटाको अध्यक्ष आफूहरूले पाउनुपर्ने कुरा नछाड्न पनि निर्देशन दिएको छ । नेविसंघका सन्दर्भमा, अहिले नेतृत्वमा रहेकाहरूको सम्बन्धमा सहमति कायम हुन नसके नेविसंघको विधान अनुसार ३२ वर्षभन्दा तलका विद्यार्थी नेताहरूलाई राखेर तदर्थ समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ ।

विभाग गठनका सन्दर्भमा पौडेल पक्षले सकेसम्म विभाग नै गठन नगर्ने अडान लिएको छ । संस्थापन पक्ष विभाग गठन गर्ने अडानमा रहे आफूहरू लचिलो भई २८ वटा विभाग गठनमा सहमत हुने रणनीति बनाएको छ । यसका साथै असन्तुष्ट पक्षले २८ वटा विभाग गठनमा पनि आफूहरूको सम्मानजनक सहभागिता प्रमुख माग हुने तर्क अघि सारेको छ ।

असन्तुष्ट पक्षका अधिकांश केन्द्रीय सदस्य सहभागी रहेको आजको बैठकले क्रियाशील सदस्यताको वितरण र छानविन समितिको सम्बन्धमा विशेष ध्यान पुर्‍याउन वार्ता टोलीलाई भनेको छ ।

महाधिवेशनको कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्वका विषयमा संस्थापन र असन्तुष्ट पक्षबीच चर्किएको विवादका कारण असन्तुष्ट पक्षले केन्द्रीय समितिको २ वटा बैठक बहिस्कार गरिसकेको छ । सहमति नजिक पुगिएको भन्दै सोमबारको बैठक स्थगित गरी छलफलमा जुटेका कांग्रेस नेताहरू निष्कर्षमा पुग्न नसकेपछि आजको बैठक पनि स्थगित गरियो ।

अर्को बैठक पर्सि ४ गते शुक्रबारका लागि बोलाइएको छ ।

Logo