लमजुङमा फिल्म सिटी बन्ने

लमजुङमा फिल्म सिटी बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लमजुङको बेँसीसहर गाउँपालिकाको करिब पाँच हजार रोपनी क्षेत्रफलमा स्मार्ट फिल्म सिटी निर्माणका लागि प्रारम्भिक सहमतिपत्रमा बुधबार हस्ताक्षर गरिएको छ । फिल्म सिटी निर्माण पूरा हुँदा पाँच अर्ब ९० करोड रुपियाँ लगानी हुनेछ ।

वल्र्ड एरिया होल्डिङ एसआरएल इटाली र स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्ट प्रालि नेपालको संयुक्त लगानीमा निर्माण गरिने फिल्म सिटीको हस्ताक्षर कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र सचिव महेन्द्रमान गुरुङको उपस्थिति थियो ।

हस्ताक्षर कार्यक्रममा मन्त्री बाँस्कोटाले निर्धारित समयभित्र फिल्म सिटी निर्माण सम्पन्न गर्न शुभकामना दिँदै नेपाली चलचित्रका लागि यो शुभारम्भ ‘माइलस्टोन’ भएको बताउनुभयो । उहाँले चलचित्र छायाङ्कनका लागि विश्वका चलचित्रकर्मी आकर्षित गर्न सरकारले ‘डेस्टिनेसन नेपाल’ घोषणा गरेको स्मरण गर्दै बिनाअवरोध काम सम्पन्न गर्न स्थानीय समुदाय, राजनीतिक दल, सरकारका सबै तहको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

इटाली लगानीकर्ता वल्र्ड एरिया होल्डिङ एसआरएलका अध्यक्ष फ्रान्सिस्को सिग्नेरेलो र नेपाली लगानीकर्ता स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्ट प्रालिका आकाश अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । निर्माता तथा निर्देशक अधिकारीले फिल्म सिटीमा पाँच अर्ब ९० करोड रुपियाँ लगानी हुने प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । उहाँले स्मार्ट फिल्म सिटीमा अत्याधुनिक स्टुडियो, आउटडोर र इन्डोर सुटिङ स्टुडियो, विश्वका प्रख्यात सहरका साथै काठमाडौँ, भक्तपुर, ललितपुरका मिनिएचर निर्माण गरी अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई ल्याउने उद्देश्य रहेको बताउनुभयो ।
गोरखापत्रबाट

Logo