‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ।

अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन्।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा प्रकाश र मुकुन पछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ।

अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ। फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन।

‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनीहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जनकारी गराएका छन्।

सोसल–ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ। फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन्।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ। करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विस २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ।

Logo