काठमाडौँ । गत वर्ष नै निर्माण घोषणा गरिएको सिनेमा ‘मायाका रंङहरू’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् ।
निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात् पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो ।
सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सहित सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो । यसअघि सिनेमाको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरू अनुबन्धित भएका थिए । उनीहरू सिनेमामा रहने नरहने कुनै पनि जानकारी निर्माण टिमले दिएको छैन । डेब्यू निर्देशक केवल तामाङका अनुसार सिनेमा पूर्ण रूपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौँमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डीओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, ताराप्रकाश लिम्बू, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
सिनेमाको सह–निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । तिहारपछि छायांकनको तयारीमा रहेको सिनेमा नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।





























प्रतिक्रिया