काठमाडौँ । आगामी डिसेम्बरबाट फ्लोरमा जाने सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । विराज खड्काको डेब्यु निर्देशनमा निर्माण हुन लागेको फिल्ममा शाह मुख्य कलाकारका रूपमा अनुबन्धित भएको निर्माण कम्पनीले जनाएको छ ।
शाह यो सिनेमाको मुख्य कलाकारमा अनुबन्धित भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको हो । ‘लभ स्टेशन’, ‘साङ्लो’ र पछिल्लो रिलिज सिनेमा ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धित गरेको जानकारी निर्माण टिमले दिएको छ ।
सिनेमामा शाहले पोजिटिभ वा नेगेटिभ कुन भूमिका देखिने छन् भन्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई एङ्ग्री लूक्समा देख्न सकिन्छ ।
आदेश सुब्बा निर्माता रहेको फिल्मको सार्वजनिक पोस्टरामा देखिएका दृश्यले सिनेमाले क्राइम थ्रीलर कथा प्रस्तुत गर्ने संकेत गर्छ । यसअघि अभिनेता प्रदीप चौधरीको लुक्स सार्वजनिक गरेको निर्माण टिमले सिनेमाको पूर्ण कास्टिङ लाइनअप सार्वजनिक गरेको छैन ।
निर्देशक खड्काले सिनेमामा ४० प्रतिशत दृश्य भिएफएक्स रहने जानकारी दिएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनमा गरिनेछ । साढे २ करोडको लागतमा निर्माण हुने सिनेमाको कथा अभिनेता प्रदीप चौधरीले लेखेका हुन् भने द्वन्द्व निर्देशन हिमाल केसीको रहेको छ ।





























प्रतिक्रिया