काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन् ।
जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् । कलेज जीवनका कथाहरूमा केन्द्रित ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण ‘होस्टेल ३’ ले फागुन २३ गतेदेखि विश्वभरका नेपाली दर्शकमाझ प्रदर्शनमा आएको थियो ।
हालसम्म पनि नेपाल तथा ओभरसिजमा प्रदर्शनमा रहेको यस चलचित्रले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता चलचित्रमा लेखन टिममा काम गरिसकेका शर्माले ‘होस्टेल ३’ को लेखनमा ती अनुभवहरूले धेरै मद्दत पुर्याएको बताए ।
उनका अनुसार विगतमा लेखिएका चलचित्रहरू पनि व्यावसायिक चलचित्र हुन् । दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लेखिएको यो चलचित्र मनोरञ्जनका साथमा केही न केही सन्देश रहेको उनले बताए ।
‘चलचित्र बन्नका लागि सबैभन्दा ठुलो कुरो भनेकै कथा हो, त्यो कथा भन्ने शैली कस्तो हुन्छ त्यो सबैभन्दा ठुलो चुनौती हो, नेपाली चलचित्रमा पनि कथा भन्ने शैलीमा सबैभन्दा ठुलो चुनौती छ, कथा भन्ने शैली प्रस्ट भएमा दर्शकले बुझेमा र त्यो कथालाई आफ्नो जस्तै मानेमा अथवा समसामयिक भएमा दर्शकहरूले अझै बढी अपनत्व लिन्छन्,’ उनले भने ।
नयाँ लेखकहरूका लागि सल्लाह दिँदै शर्माले अध्ययन, व्यवहारिक ज्ञान, चलचित्र हेर्ने बानी, आफ्नो भाषा र संस्कृतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । परिवेश अनुसारको चलचित्र बढी चल्ने बताउँदै शर्माले त्यसैलाई प्राथमिकता राखेर लेख्यो भने अझै बढी दर्शकको माया पाउन सकिने बताए ।
‘होस्टेल ३’ को पटकथा लेख्दा उनले केही चुनौतीहरू सामना गरेका छन् । ‘यो आफैमा हिट सिरिज थियो । मैले लेखिरहँदा ’होस्टेल’ र ’होस्टेल रिटन्र्स’को साखलाई तल झर्न दिनुहुन्नथ्यो, अनि यो चलचित्र लेखिरहँदा यति धेरै पात्रहरू थिए, हरेक पात्रहरूलाई स्थापित र त्यसको ल्यान्डिङ गर्नु अनिवार्य थियो,’ उनले भने ।
सशान कँडेलले निर्देशन गरेको ‘होस्टेल ३’मा ’कुलब्वाय’को नामले परिचित पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतका नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रले कलेज जीवनका वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गरेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।





























प्रतिक्रिया