चलचित्र ‘जार’मा दुई करोडको बाघ, बाघलाई लतार्ने मौका सौगातलाई

चलचित्र ‘जार’मा दुई करोडको बाघ, बाघलाई लतार्ने मौका सौगातलाई

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । चलचित्र ‘जार’ले भीएफएक्समा ठूलो बजेट खर्च गरेको छ ।

सिनेमाको कथामा रहेको बाघको दृश्यका लागि निर्माण टिमले ठूलो रकम खर्च गरेको हो । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

इन्द्रबहादुर राईले सन १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा ढुक्क रहेको उनले बताएका छन् ।

बाघ पनि सिनेमाको पात्रसँगै आउने भएकाले त्यसलाई जसरी पनि देखाउनै पर्ने अवस्थामा आफूले भीएफएक्समार्फत बाघको सिन बनाएको र त्यसका लागि दुई करोड रुपैयाँ खर्च गरेको प्रष्ट पारे । चलचित्र ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन । स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ । इन्द्र बहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे सिनेमा नै अधुरो हुने थियो ।

त्यसैले निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने निर्णय गरे । यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन । त्यसैले उनले भीएफएक्सका राख्ने निर्णय गरे । निर्देशक फुर्वा छिरिङ लामाले भने, “सुरुमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो किन भने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो । ”

फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको निर्देशक लामाले बताए । लामो समय लिएर ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनले जानकारी दिए ।

आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत सिनेमाका काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।

चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदै छ । ‘जार’ सन १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

Logo