सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डा भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए । चिकित्सकसँगै साहित्यकार समेत रहनुभएका उहाँले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गरेका थिए ।

सानै उमेरमा विवाह बन्धनामा बाँधिनुभएकी सरलाको पढ्ने चाहना रोकियो । श्रीमानको हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उनले अध्ययनलाई निरन्तरता दिन पाइनन् । यही कथालाई डा रिजालले गीति कथानक चलचित्रका रुपमा तयार गरे । जहाँ संवाद थिएन, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा रिजालका छोरा डा कपिलले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गरेका छन् ।

आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’ मा एसइईसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा पढ्ने चाहनालाई गौँथली नामक पात्रले कसरी पुरा गर्छिन् वा उनको सपना पुरा हुँदैन् ? यही जिज्ञाशा चलचित्र ‘गौँथली’ मा छ ।

चलचित्रका निर्देशक डा कपिलले शुक्रबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताए । उनले भने, “अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई नजिकबाट महसुस गरेको छु, बुवा (डा भोला रिजाल) आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा (सरला रिजाल)ले धेरै त्याग गर्नुभएको छ । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्यनको शिलशिलामा बाहिर बस्नुहुन्थ्यो, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गर्नुभएको हो । त्यहि भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।”

बेलायतमा दन्त चिकित्सक रहेका डा रिजाल पछिल्लो समय चलचित्रको काममा व्यस्त छन् । “मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउँथे, रहर थियो । अहिले सही समयमा चलचित्र निर्देशन गरिरहेको छु, मेरा चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्”, निर्देशक डा रिजालले भने ।

उनले निर्देशन गर्नुभएका चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा वीर्य दानको विषयवस्तु तथा ‘गौँथली’ मा ‘अटिजम’ भएका व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई उत्तिर्ण गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएकी छिन् ।

अभिनेता क्षेत्रीसामु चलचित्रमा ‘अटिजम’ भएको युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । “अटिजमबारे मेरो बुझाइ फरक रहेछ, मैले विस्तारै बुझ्न थाले । ती फरक क्षमता भएकासँग समय बिताए, उहाँहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरे”, उनले भने ।

उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहज हुने गरेको बताए । “म वा मेरो पुस्ताले गौँथलीले भोग्नु परेको कठिनाई र गर्नु परेको सङघर्ष सुन्दा पनि असहज हुन्छ, चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक संदेश दिन्छ”, उनले भने ।

उक्त चलचित्रमा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए ।

Logo