क्यानाडाको प्रतिष्ठित जुनो अवार्डको तीन विधामा छानिए नेपाली मूलका कर्टिस वाटर्स

क्यानाडाको प्रतिष्ठित जुनो अवार्डको तीन विधामा छानिए नेपाली मूलका कर्टिस वाटर्स


क्यानाडाको प्रतिष्ठित ‘जुनो अवार्ड–२०२१’ को नोमिनेसन सार्वजनिक भएको छ । हालै सार्वजनिक गरिएको मनोनयनमा नेपाली मूलका गायक कर्टिस वाटर्स अर्थात् अभि बस्ताकोटी पनि तीन विधामा पहिलो पटक छनोटमा परेका छन्। 

उनी यस बर्षको ‘जुनो फ्यान च्वाइस अवार्ड’  र ‘ब्रेक थ्रु आर्टिस्ट अफ द इएर’ को प्रतिस्पर्धामा छानिएका हुन्। यसका साथै उनको ‘पिटी पार्टी’ एल्बम यस बर्षको ‘अल्टर्नेटिभ एल्बम अफ द इएर’ को लागि छनोटमा परेको छ। 

फ्यान च्वाइस अवार्डका लागि उनी  विश्व विख्यात गायक जस्टिन बिबर, शन मेन्डेज, लेनन स्टेला, द विकेन्ड, जे पी स्याक्स लगायतका गायक गायिकासँग प्रतिस्पर्धामा छन्। यसैगरी उनीसँगै यस वर्षको ब्रेक थ्रु आर्टिस्ट क्याटेगोरीमा रेल्याण्ड जेम्स्, टेट म्याकरे, पोफुल र जेपी स्याक्स पनि रहेका छन्। अल्टर्नेटिभ एल्बम अफ द इएरको लागि कर्टिस वाटर्सको ‘पिटी पार्टी’ सहित अन्य चर्चित कलाकारका चार वटा एल्बम पनि परेका छन्। 

यस बर्षको अवार्ड मनोनयनमा द विकेन्ड ६ विधामा छनोटमा परेका छन् भने सुपरस्टार जस्टिन बिबर, जे पी स्याक्स  र जेसी रियाज विभिन्न पाँच विधामा छनोटमा परेका छन्। 

कर्टिस वाटर्सले आफू पहिलो पटक यसरी चर्चित कलाकारहरूसँगै तीन विधामा छनोटमा परेपछि खुसी प्रकट गर्दै आफूले गीत संगीतलाई  प्रतिस्पर्धाको लागिभन्दा पनि व्यक्तिगत खुसी र भावना व्यक्त गर्नका लागि गरिने सिर्जनात्मक कामको रुपमा लिएको बताए।  यद्यपि उनले यो मनोनयनबाट आफ्नो कामलाई पाश्चात्य संगीतको मूलधारमा स्थापित गर्न थप मदत पुग्ने विश्वास लिएका छन् । 

सन् १९९९ को डिसेम्बरमा काठमाडौंमा जन्मेका अभि बस्ताकोटी  सांगीतिक क्षेत्रमा कर्टिस वाटर्स नामले चिनिन्छन्।  आफ्ना अभिभावकसँगै  क्यानाडा हुँदै हाल अमेरिकाको नर्थ क्यारोलाइना बसोबास गर्दै आएका कर्टिस वाटर्स अघिल्लो वर्ष ‘स्टनिन’ गीत मार्फत् विश्वभरि चर्चित भएका थिए।  उनको उक्त गीत हालसम्म विभिन्न प्लेटफर्ममा ३ सय ७५ मिलियनभन्दा  बढी पटक स्ट्रिमिङ भइसकेको छ। 

उनको यो गीत क्यानाडामा प्लाटिनम सर्टिफाइड, ब्राजिल र म्याक्सिकोमा गोल्ड सर्टिफाइड भएको छ। यसैगरी ‘स्टनिन’ क्यानाडाको उत्कृष्ट ४० गीतको सातौं स्थानमा र बिल्वोर्ड हट–१००  क्यानाडा चार्टको उत्कृष्ट  २५ मा परेको थियो।  

टिकटक प्रबिधिको प्रयोगबाट इन्टरनेटमा  गीत संगीतलाई चर्चित बनाउन सफल भएका  कर्टिस वाटर्स यही मार्च १३ मा टिकटक र लजिटेकले पहिलो पटक प्रदान गरेको ‘द सङ ब्रेकर अवार्ड’ बाटसमेत सम्मानित भएका थिए।  
   

Logo