सम्बन्ध विच्छेद गरेका बलिउडका यी आठ दम्पति(भिडियोसहित)

सम्बन्ध विच्छेद गरेका बलिउडका यी आठ दम्पति(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विवाह त्यस्तो सम्बन्ध हो, जसले दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्ने गर्छ । सामाजिक, धार्मिक तथा कानूनीरुपले गरेको विवाह मान्य हुने गर्छ । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया पनि हो । तर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा भने सफल हुन सक्दैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद, आशंका, अविश्वास र चरम महत्वकांक्षाले गर्दा दम्पतिहरु सम्बन्ध विच्छेदसम्म पुग्ने गर्छ । यस्तै बलिउड क्षेत्रमा पनि नाम चलेका धेरै कलाकारहरुले डेढ दशक भन्दा बढी समय वैवाहिक जीवनसँगै बिताएर पनि अलग भएका छन्: को को हुन् ती कलाकारहरु ?

१. सैफ अली खान–अमृता सिंह 
पटौदी परिवारका नवाबजादे बलिउड अभिनेता सैफ अली खानले सन् १९९१ मा त्यस समयकी लोकप्रिय अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । छोटो समयको चीनजानमै विवाह बन्धनमा बाँधिएका यी दम्पतिको सम्बन्ध धेरै वर्ष टिक्न सकेन । विवाह बन्धनमा बाँधिएको १३ वर्षपछि सन् २००४ मा यो दम्पतिले अलग हुने निर्णय गरेका थिए । सैफ र अमृताका दुई सन्तानहरु पनि छन् । छोरी सारा अली खान र छोरा इब्राहिम खान हुन् । 

अमृतासँग अलग भएको ८ वर्षपछि सन् २०१२ मा सैफ अली खानले अभिनेत्री करिना कपूरसँग दोस्रो विवाह गरेका छन् । अमृतासँग छुट्टिनुको कारणबारे सैफले एउटा अन्तर्वार्तामा भनेका थिए, कसैलाई पनि आफ्नो परिवारको बारेमा अपमानजनक कुरा सुन्न मन पर्दैन, त्यसैले म उनीसँग छुट्टिए । 

२. मलाइका अरोडा–अरबाज खान 
मलाइका अरोडाले १२ डिसेम्बर सन् १९९८ मा अभिनेता अरबाजसँग विवाह गरेकी थिइन् । यो दम्पति विवाह हुनु पूर्व पनि ५ वर्ष लामो प्रेम सम्बन्धमा बसेका थिए । लामो समयसँगै दम्पति बनेर बिताएका यो जोडीले विवाह भएको १९ वर्षपछि भने सम्बन्धलाई निरन्तरता दिन सकेनन् । तसर्थ यो जोडीले सन् २०१७ मा एक अर्काबाट अलग हुने निर्णय गरे र सम्बन्ध बिच्छेद मार्फत आफ्नो बैवाहिक सम्बन्धलाई पूर्णबिराम लगाए । उनीहरुको यस निर्णयले सबै जना आश्चर्यचकित भएका थिए । मलाइका र अरबाजको १८ वर्षे एक छोरा पनि छ । जसको नाम अर्हान खान हो । अरबाज चर्चित बलिउड अभिनेता सलमान खानका भाई हुन् । हाल, अरबाज एक मोडलसँग प्रेम सम्बन्धमा छन् । मलाइका भने अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन् । 

३. ऋतिक रोशन–सुसान खान
एक समय बलिउड उद्योगमा ऋतिक रोशन र सुसान खानको जोडी सबैभन्दा राम्रो जोडीको रुपमा जमेकोे थियो । यो दम्पती एक अर्काबाट अलग हुनु सबै दर्शकको लागि ठूलो चोट थियो । सन् २००० मा विवाह बन्धनमा बाँधिएको यो दम्पतिले विवाहको १४ वर्षपछि सन् २०१४ मा आपसी सहमतिबाटै सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका थिए ।

केही सञ्चारमाध्यमहरुले उनीहरुको सम्बन्ध विच्छेदका कारण अर्जुन रामपालसँग सुसानको बढ्दो करीवता भएको उल्लेख गरेका छन् । तर सम्बन्ध बिच्छेदपछि पनि यो दम्पतीले सँगै समय बिताएको देखिन्छ । ऋतिक र सुसानका २ छोराहरु छन् । त्यसैले दुबै बच्चाहरुको खातिरसँगै हुन्छन् । २०२० को लकडाउनमा पनि उनीहरुसँगै देखिएका थिए । 

४. आमिर खान–रीना दत्ता 
बलिउडका मिस्टर परफेक्शनिस्ट भनिने आमिर खानले सन् १९८६ मा रीना दत्तासँग लगनगाँठो कसेका थिए । तर दुईको वैवाहिक जीवन १६ वर्षमै टुङ्गिन पुग्यो । सन् २००२ मा आमिर खानले पत्नी रीनासँग सम्बन्धविच्छेद गरेका थिए । उनीहरुको जुनिद र ईरा नाम गरेका दुई बच्चाहरु पनि छन् । 

पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेपछि आमिरले आफ्नो फिल्म लगानका सहायक निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका छन् । किरण र आमिरको एक छोरा पनि छ । छोरोको नाम आजाद राखिएको छ । 

५. अर्जुन रामपाल–मेहर जेसिया 
बलिउड अभिनेता अर्जुन रामपालले सन् १९९८ मा पूर्व मिस इण्डिया तथा सुपर मोडल मेहर जेसियासँग विवाह गरेका थिए । अर्जुन रामपाल र मेहर जेसियाका दुई छोरीहरु छन् । 

विवाहको २० वर्षपछि यो दम्पतीले सन् २०१८ मा एक अर्कासँग छुट्टिने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ मा दम्पतिको बान्द्रा फेमिली अदालतबाट सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद हुनु अधि नै अर्जुन रामपालले उनकी प्रेमिका गेब्रिएला डेमेट्रिएड्स आमा बन्न लागेको घोषणा गरेका थिए । सम्बन्धविच्छेदको केही समयपछि नै उनको छोरा जन्मिएको थियो । 

६. करिश्मा कपूर–संजय कपूर 
करिश्मा कपूर जो एक समय बलिउडकी सबैभन्दा लोकप्रिय अभिनेत्री हुन् । करिश्माले सन् २००३ मा व्यवसायी संजय कपूरसँग विवाह गरेकी थिइन् । दम्पतिको समिरा र किआनराज नाम गरिएका दुई सन्तान छन् ।  

तर विवाहको केही वर्षपछि नै यो दम्पतिको सम्बन्धमा फाटो आउन थालेको थियो । सोही अनुरुप सन्  २०१४ मा दम्पतिले आपसी सहमतिबाटै सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । अन्ततः त्यसको दुई वर्षपछि दम्पतिको सम्बन्ध विच्छेद भयो । यद्यपी संजयसँग विवाह गर्नु भन्दा अघि पनि करिश्माले अभिनेता अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरेकी थिइन् तर, उनीहरुको इन्गेजमेन्ट विवाहमा परिणत नभई टुटेको थियो । 

७. फरहान अख्तर–अधुना
बलिउड अभिनेता तथा चलचित्र निर्माता फरहान अख्तर सन् २००० मा मोडल अधुनासँग विवाह बन्धनमा बाँधिएका थिए । तर विवाहको १६ वर्षपछि दम्पतिले छुट्टिएर बस्ने निर्णय गरेका थिए र सन् २०१७ मा दम्पतिले सम्बन्ध विच्छेद गरे । हाल, फरहान अख्तर मोडल शिबानी दाडेकरसँग प्रेम सम्बन्धमा छन् । भारतीय सञ्चारमाध्यमले फरहान र पे्रमिका शिवानीसँग छिट्टै विवाह गर्ने समेत जनाएका छन् । 

८. हिमेश रेशमिया–कोमल 
लोकप्रिय गायक तथा संगीतकार हिमेश रेशमियाले विवाह भएको २२ वर्षपछि पत्नी कोमलसँग सम्बन्ध विच्छेद गरेका थिए । हिमेश र कोमलले सन् १९९५ मा विवाह गरेका थिए तर विवाह भएको २१ वर्ष पुग्दा दम्पतिले सन् २०१६ मा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए । मुद्दा दर्ता भएको ठिक एक वर्षपछि सन् २०१७ मा बान्द्राको फेमिली अदालतबाट दम्पतिको सम्बन्ध विच्छेद भएको थियो। पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भएपछि हिमेशले सोनिया कपूरसँग दोस्रो विवाह गरेका छन्। 

Skip This
Skip This
Logo