‘सर्ट मुभी कम्पिटिसन’मा १०८ स्क्रिप्ट छनोट, सहभागीहरूका लागि एक दिने कार्यशाला सम्पन्न

‘सर्ट मुभी कम्पिटिसन’मा १०८ स्क्रिप्ट छनोट, सहभागीहरूका लागि एक दिने कार्यशाला सम्पन्न


राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा ११५ स्क्रिप्ट सहभागी भएको छ। ११५ मध्ये १०८ स्क्रिप्ट छनोट भएको छ। छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। 

सोमबार चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र चलचित्र निर्माणको लागि स्क्रिप्ट पठाउने हरुका लागि युवा संघ नेपालले चलचित्र क्षेत्रका बिज्ञहरुलाई सहभागी गराएर चलचित्र बनाउने सम्बन्धमा अभिमुखिकरण गराएको हो। 

कार्यक्रममा निर्देशक मीन भाम, सिनेम्याटोग्राफर विष्णु कल्पित, नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती, चलचित्रकर्मी अर्जुनदेव जोशीलगायतको  सहभागीता रहेको थियो। 

निषेधाज्ञाका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, युवा संघ नेपालका उपाध्यक्ष थेवे, उपाध्यक्ष पुष्पराज श्रेष्ठ, उपाध्यक्ष उर्मिला सुनुवार, अशोक चौलागाईं, महासचिव रमेश आचार्य, उप महासचिव रामजी सापकोटा, सचिव सीता सुवेदी, विनोद ओली, सुनीता कार्की, स्थायी कमिटी सदस्य महेश चौलागाईं, सचिवालय सदस्य श्रीधर पौडेल, केशव घिमिरे र समुन्द्र तिमल्सिना, केन्द्रीय सदस्य द्वय विरेन्द्र भट्ट र रेशु लामा लगायतको उपस्थिति थियो।

मापदण्ड अनुरुप छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनलगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनु पर्नेछ।

यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको राष्ट्रिय यूवा संघ नेपालले जनाएको छ । छानिएका स्क्रिप्टहरुबाट छोटो चलचित्र निर्माण गरि युवा संघ नेपाललाई बुझाउनु पर्नेछ। उक्त चलचित्र बुझाइसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन फिल्म छान्ने छ। 

छानिएका तीन फिल्ममध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।

राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह–आयोजक रहेको छ । प्रवद्र्धकमा नेसनल युथ काउन्सिल रहेको छ। त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ।

Logo