कोरोना संक्रमण घट्दै गइरहेको र सबै क्षेत्र खुला भएसँगै नेपाली फिल्म निर्माण र प्रदर्शनमा चहलपहल सुरु भएको छ। झन्डै डेढ वर्ष ठप्प भएका सिनेमा हलमध्ये केही दसैं अघि खुलेका छन्। बाँकी हल भने तिहारको प्रतीक्षामा छन्।
दसैंमा ठूला ब्यानर र स्टार कलाकारका फिल्म रिलिज नभएकाले हलमा दर्शकको उपस्थिति अपेक्षित नभए तापनि तिहार प्रदर्शन हुन लागेको बलिउडको मल्टिस्टारर फिल्म ‘सूर्यवंशी’ प्रति चाहिँ सबै आशावादी देखिएका छन्।
दसैंमा दुई नेपाली फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ प्रदर्शन भए भने तिहारमा ‘चोर र पुलिस’ र ‘धूम-४’ आउँदैछन्। बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शकको भीड गराउने विश्वास नेपाली फिल्मकर्मीहरूले गरेका छन्। त्यसैले यो फिल्म प्रदर्शनपछि नै माहोल तातिने आंकलन उनीहरूको छ। यद्यपि, केही निर्माताले भने आफ्नो फिल्म प्रदर्शनको मिति तोक्दै गइरहेका छन्।
तिहारलगत्तै अर्थात् मंसिर ३ मा निर्माता शरद अधिकारीले आफ्नो फिल्म ‘माया बस्छ कि के हो’ प्रदर्शन हुने जानकारी दिएका छन्। युरोपका विभिन्न देशमा खिचिएको सो फिल्ममा नवकलाकार सोनाल तामाङ र कस्मता निरौला मुख्य भूमिकामा छन्। पहिलो लकडाउन खुलेसँगै प्रदर्शनको चाँजोपाँजोमा लागेको सो फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ।
अर्का निर्माता, निर्देशक ऋषिराज आचार्यले पनि आफ्नो नयाँ फिल्म ‘चुरीफुरी’ को प्रदर्शन मिति तय गरेका छन्। कमेडी जनराको उनको फिल्म ९ पुसमा प्रदर्शन हुँदैछ। लकडाउनअघि नै निर्माण भएका करिब दुई दर्जन बढी फिल्म प्रदर्शन हुन बाँकी छन् भने पहिलो लकडाउन खुलेपछि सुटिङ गरिएका झन्डै आधा दर्जन फिल्म पनि प्रदर्शनका लागि ‘डेट’ पर्खिरहेका छन्।
दसैंअघि नै ‘लप्पन छप्पन-२’ ले १३ फागुन, ‘ए मेरो हजुर-४’ ले २५ चैत र ‘चिसो मान्छे’ ले २० वैशाखमा प्रदर्शन हुने घोषणा गरिसकेका छन्। यीबाहेक केही फिल्मले ‘सूर्यवंशी’ को व्यापार हेरेर प्रदर्शन मिति तोक्ने योजना बनाएका छन्।
प्रदर्शनसँगै फिल्म सुटिङ कार्यले पनि क्रमशः गति लिँदै गइरहेको छ। दसैंलगत्तै रामबाबु गुरुङले मुस्ताङबाट ‘कबड्डी-४’ को सुटिङ सुरु गरेका छन्। त्यसैगरी, निर्देशक लक्ष्मण सुनारले कात्तिक दोस्रो साताबाट डोल्पा पुगेर ‘बुलाकी’ खिच्ने तयारी गरेका छन्।न्युज कारखाना





























प्रतिक्रिया