‘प्रेमगन्ज’ ट्रेलर : दुई पुस्ताको आकर्षक प्रेमगाथा

‘प्रेमगन्ज’ ट्रेलर : दुई पुस्ताको आकर्षक प्रेमगाथा


परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ । 

प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् । 

फिल्मको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ । तर, निर्माण टिमका अनुसार फिल्म भित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छिन् । ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छिन् । 
  
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र  ३ भदौमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।  योसँगै फिल्म युरोपका विभिन्‍न देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ । 

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको  फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।

Logo