माइस्थानको दर्शन सहजताका साथ गर्न पाउने व्यवस्था मिलाउन मेयरको निर्देशन

माइस्थानको दर्शन सहजताका साथ गर्न पाउने व्यवस्था मिलाउन मेयरको निर्देशन


वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान (गहवा माइ) मन्दीर क्षेत्रको सौन्दर्यीकरण सोमबार रातिसम्म सक्न निर्देशन दिएका छन् ।

सोमबारदेखि दशैं सुरु भएकाले सौन्दर्यीकरणको काम सोमबार रातिसम्म सक्न निर्माणकर्तालाई मेयर सिंहले निर्देशन दिएका हुन् । उनले यस पटक भक्तजनले सहजताका साथ दर्शन गर्न पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिए । 

मन्दिर आसपासका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएका सामान हटाएर मन्दीर क्षेत्र सफा राख्न नगर प्रहरीलाई उनले निर्देशन दिएका हुन्।

घटस्थापनाको दिनदेखि नै माइस्थानमा पूजा अर्चना दर्शनार्थीको भिड लाग्ने गर्दछ।
‘फुटपाथ र नाला मिचेर सामान राखेको देखिन्छ । आतंक मच्चाउने गरी हैन, सम्झाइ बुझाइ गरेर हटाउन लगाउनू’ उनले भने ।

महानगरले ८५ लाखको लागतमा माइस्थान मन्दीर परिसर सौन्दर्यीकरणको काम गरिरहेको छ । माइस्थान मन्दीर परिसरमा फलफुल, पूजा सामाग्री र स्ट्रिट फुडको बिक्री हुँदै आएकोमा अबदेखि त्यसो नहुने भएको छ । मुख्य सडकदेखि मन्दीर परिसरसम्म साइकल, मोटरसाइकल समेत सवारी आवागमन निषेध गरेर सुन्दर राख्ने परिकल्पना महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाका पूर्वाधार विज्ञ सल्लाहाकार प्रकाश अमात्यका अनुसार मन्दीर परिसरमा पसल व्यवसाय समेत सञ्चालन गर्न नदिने तयारी भइरहेको छ ।

Logo