आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला लाग्दै

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला लाग्दै


आज आमाको मुख हेर्ने दिन, देशभर छोराछोरीले जन्मदाता आमालाई मिठा खानेकुरा दिई श्रद्धा र भक्तिसाथ यो पर्व मनाउँदै छन् ।  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा यो पर्व मनाउने गरिन्छ । 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा  लुगा लगायत उपहार दिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
    
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरि जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता पनि छ ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ। विगत दुई वर्ष कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने मेला लाग्ने छ।

Logo