काठमाडौं ।
नेपाल र इजरायल सरकारबीच कूटनीतिक राहदानीबाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ ।
इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको दूतावासले जानकारी दिएको छ । ‘सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कुटनीतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि प्रवेशाज्ञा (भिसा) लिनु पर्दैन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रममा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।
केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जानकारी दिएको छ ।





























प्रतिक्रिया