तिलु शर्मा पौडेल
दोहा कतार ।
३० महिनाबाट कतारमा कार्यरत धनकुटा सावावारिका गङ्गा बहादुर कार्कीले कतार बसाईलाई बिट मारे । सँगै काम गर्ने साथीहरू केही समय पहिले आफ्नै पैसाले टिकट काटेर नेपाल पुगे पनि उनी कम्पनिको टिकटमै उड्ने अड्डी कसे पछि टिकट उपलब्ध गराएको बताए । ६ महिनादेखि बेरोजगार छु त्यसैमाथि ४५ हजार नेपाली मूल्यको टिकट काटेर घरमा खाली हात कसरी जानु उनले दुःखको पहाडबाट निराशा मिसिएको गुनासो पोखे ।
हिमालयन एयरलाइन्सको काउन्टरतर्फ अघि बढदै गरेका कैलालीका काली सिंह रानाले नेपाली राजदूतावासका कर्मचारीसँग गुनासो राखेर लाभ हुने देखेनन् । कम्पनिले कसैको कुरा सुन्दैन, केन्द्रबिन्दुसँगको भेटमा उनले भने, हामी ५० जना भन्दा बढी आजको फ्लाइटमा जाँदै छौ तर कसैलाई कम्पनिले टिकटसम्म दिएन । कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत उनीहरू सबै एक मुख भए । आफ्नो देश जाँदा पनि रुनु पर्ने ? आफ्ना हक अधिकारको लागि लड्नु पर्ने ? ६ महिनाबाट सेलरी पनि पाइएन पीडाको चाङ लगाए ।

४ महिनाबाट सेलरी नपाएका बाँके जिल्लाका मुस्ताक खान आफ्नो खर्चले उडे । उनीसँगै सिन्धुलीका हस्त बहादुर श्रेष्ठ पनि जोडिए । श्रेष्ठ भन्छन् , जनवरीमै कम्पनिमा राजीनामा दिंदा पनि कम्पनिले समयमा पठाएन र अन्तिममा खर्च सम्म दिएन । म्याग्दी अन्नपूर्णका प्रेम बहादुर राम्जालीले कोरोनाका कारण जागिर गुमाए । ४ महिनाको लामो कोसिसपछि नेपाल जान पाएकोमा खुसी व्यक्त गरे ।
यी पीडित प्रतिनिधि मात्र हुन् । कतारबाट २८ पटक नेपाल तथा हिमालयन र पाँच पटक कतार एयरवेजले समेत उडान गरी सकेका छन् । यद्यपि पीडितहरू बढने क्रम रोकिएको छैन ।
गए राति दोहाबाट नेपाल एयरलाईन्सले १५१ तथा हिमालयन एयरलाईन्सले १५० जना लिएर २७ औं तथा २८ औं सहजीकरण उडान गरेको नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । एयरपोर्टमा यात्रीहरूलाई बिदाइ गर्न भट्टराईका अलावा द्वित्तिय सचिव तथा श्रम सहचारी भुवनप्रसाद भट्ट, तृतीय सचिव तुलसी कोइराला प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।
योसँगै हालसम्म कतारबाट ५ हजार ५० जनासहित ४६ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त उडान भएका हुन् ।































प्रतिक्रिया