दुई उडानमार्फत आज कतारबाट २९९ नेपाली स्वदेश फर्किए

दुई उडानमार्फत आज कतारबाट २९९ नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोरोनाका कारण प्रवासमा रहेका नागरिकलाई स्वदेश फिर्ता आउन अनुमति प्रदान गरी उद्धार उडानको नाममा सरकारले जस लिई रहेको छ । यद्दपि कतारमा पीडितहरू उस्तै छन् । चर्को भाडादर तथा लकेज कटौतीले यात्रुहरु मारमा मात्र परेका छैनन् जति जति समय बित्दै जान्छ त्यति नै पीडितहरू बढदै गएका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम गए राति कतारबाट नेपाल तथा हिमालयन एयरलाईन्सले २२ औँ र २३ औँ सहजिकरण उडान भरेका छन् । दोहाबाट काठमाडाैंका लागि हिमालयन एयरलाइन्सको H 95632 को उडानबाट ११ जना महिला सहित १४९ जना तथा नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ जना महिला सहित १५० जना गरी २९९ जना नेपाल फर्किएको जानकारी नेपाली राजदूतावासका दित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

उक्त उडानका चालिस प्रतिशत भन्दा बढी यात्री आफ्नै पैसाले टिकट काटेर फर्किएका हुन् । विगत १६ महिनाबाट कतारलाई कर्मभूमि बनाएका ललितपुरका राजेन्द्र महर्जन ५ महिना बेरोजगार मात्रै बनेनन् घर जाने टिकटको लागि समेत ऋण खोज्नु पर्‍यो । श्रमिक कल्याणकारी कोषमा रहेको रकम श्रमिकको उद्दारमा खर्च गर्न कन्जुस्याइँ गरेको भन्दै महर्जनले सरकार प्रति रोष प्रकट गरे ।

पाल्पा तिनाउ गाउँपालिकाका बिन्दु बहादुर विष्ट कतारको ३ बर्से बसाईलाई टुङ्गाउँदै आफ्नै खर्चले टिकट काटेर नेपाल उडे । उनी सँगै इटहरीका आशिष श्रेष्ठ सिन्धुली मरिन गाउँपालिका ४ का प्रकाश राई ६ महिनादेखि सेलरी विहीन थिए । उनीहरू ऋण खोजेर नेपाल फर्किएका हुन् ।

बालबच्चाको दिदीले रेखदेख गर्दिने भए पछि रोजगारीका लागि कतार आएकी मोरङकी रोशनी रिमालको जीवनमा उनकी ३३ वर्षीय दिदीले आत्महत्या गरेपछि ठूलो बज्रपात आई पर्याे । आफ्ना सन्तानको बिच्चली र दिदी गुमाएको पीडाले उनी विक्षिप्त अवस्थामा थिइन् । ३३ महिनासम्म काम गरे पनि तत्काल नेपाल जानु परेको दुःखद अवस्थामा समेत कम्पनीले टिकटको व्यवस्था नगरिदिंदा उनी थप पीडामा थिईन् ।

म्याग्दी ताकमका भूमिराज केसी आमाको काज किरियाका लागि स्वदेश जानु पर्दा समेत कम्पनीले टिकट दिएन । कम्पनिले आफ्नो दुःख माथि घिउ थप्यो केसीले भने । विगत ५ वर्ष देखि कतारमा कार्यरत म्याग्दी भगवतीका चित्रलाल केसी घर फर्कने तयारीमा रहेका बेला लडेर खुट्टा भाँचिए पछि थप पीडित बने । ४ महिना लामो कुराई पछि निको भएर उनले कतारलाई सदाको लागि बिदाइ गरे ।

आईडिको म्याद सकिएकै भए पनि ओभर स्टेको कुनै अतिरिक्त शुल्क नलाग्ने कतारको कानुन छ तर आईडिको म्याद सकिएको भन्दै कम्पनीले २ महिनाको करिब नेपाली २० हजार रुपैयाँ जरिवाना काटेको र टिकट समेत नदिएर आफूलाई अन्याय गरेको भन्दै उदयपुर कटारीका सलमान कार्कीले नियोगका अधिकारी समक्ष गुनासो गरे ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टराईका अलावा दित्तिय सचिव ऋचा भट्टराई, एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए। कतारबाट कुल ४ हजार ३८ जनासहित विभिन्न समयमा मृत्युवरण गरेका ४४ जनाको शव नेपाल पुगिसकेका छन् ।

Logo