- तिलु शर्मा पौडेल
दोहा कतार ।
कतारको दोहाबाट गए राति नेपाल एयरलाईन्सले २१ औँ सहजीकरण उडान गरेको छ । ८ महिलासहित १५० जना यात्रु लिएर कतारबाट उडेको जहाजमा विभिन्न कारणले कतारमा मृत्यु भएका २ वटा शव पनि पठाइएको नेपाली राजदूतावास कतारका द्वित्तिय सचिव भुवन प्रसाद भट्टले जानकारी दिएका छन् ।
उक्त उडानमा गत सालको डिसेम्बरबाट तलब र काम विहीन बनेका बाग्लुङ् रेसाका माधव गौतम उडेका छन् । कम्पनिको मालिक सम्पर्क विहीन भए पछि बिचल्लीमा परेका उनी नेपाल फर्कने टिकटको जोहोको लागि गृह जिल्लाको संस्थासहित नियोगको ढोकामा कयौँ पटक पुगे । सबैबाट सहयोगको बचन पाएको तर सहयोग नपाएको गुनासो उनको थियो । नेपाली नियोगले जारी गरेको लिस्टमा आफ्नो नाम देखाएपछि कम्पनिको मालिकको साथीले टिकटको पैसा तिरिदिएर आफूलाई जन्मभूमि जाने बाटो खुलेको उनको भनाई थियो ।
कथित आजाद भिसामा कतार आएर ९ महिनादेखि अलपत्र परेका जाजरकोट बारेकोट गाउँपालिका निवासी लोकेन्द्र शाहीलाई विगत ३ महिनादेखि गैरवासीय नेपाली सङ्घले गाँसबासको व्यवस्था गरेको थियो भने सङ्घले उपलब्ध गराएको राहत कोटाको टिकटमा उनी नेपाल उडेका हुन् । उनीसँगै जनवरीदेखि जागिर विहीन बाँकेका इमानसिंह ठकुरी पनि राहत कोटाको टिकटमा उडेका छन् ।
इलाम सनपुरकी श्री कुमारी राई ५ महिनादेखि तलब विहीन थिइन् । सानो हाते झोला भुईंमा राख्दै उनले पूर्वेली लवजमा आवु भात खानु पनि नदिने हौ सर कसरी बाँच्नु कोठामा भित्ता कोपार्नु हौ, काम छैन भने अन्न पनि छैन भन्नेलाई त पाप लागोस् , उनको आक्रोश थियो ।
यस्तै कोरोनाका कारण विगत ५ महिनादेखि जागिर विहीन बनेका म्याग्दी मालिका निवासी लिल बहादुर बराइलीको जीवनमा अर्को ठूलो बज्रपात बन्यो प्राकृतिक विपत्ति । केही समय पहिले गएको पहिरोले घरमा क्षति पुर्याए पछि थप चिन्तामा परेका उनले स्वदेश पुगेपछि आफ्नो घर आफैं बनाउने दृढ अठोटसहित कतारलाई सदाका लागि छोडेर गए ।
नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएको कतारबाट हालसम्म ३ हजार ७३९ जनासहित ४४ वटा शव सहजिकरण उडानमार्फत नेपाल पुगिसकेका छन् । तर कतारमा पीडित नेपाली दिनानुदिन बढी रहेका छन् ।































प्रतिक्रिया