तिलु शर्मा पौडेल
दोहा कतार ।
करिब ४ साढे लाख नेपालीलाई रोजगारी तथा व्यवसायिक कर्म गर्न दिएको कर्मस्थल हो कतार । कोरोनाका कारण यहाँ रहेका नेपालीहरू मध्ये करिब २० हजारले रोजगारी गुमाएको अनुमान गरिएको छ । नेपाल सरकार तथा नेपाली राजदूतावासले विशेष परिस्थितिमा नेपाल जानै पर्नेहरूका लागि जारी गरेको फाराम दोस्रो चरणमा १४ हजार १५८ जनाले भरेका छन् भने कुल ५,७०८ जना नेपाल जान योग्य भनी दूतावासले प्रक्रिया पुर्याएर सूची जारी गरिसकेको छ । हालसम्म नेपाल तथा हिमालयन एयरलाइन्सले १९ औं तथा कतार एयरवेजले ४ वटा सहजीकरण तथा उद्धार उडानमार्फत ३ हजार ४३९ जनासहित ४२ वटा शव पनि नेपाल लगिसकेको छ । कतारमा कोरोनाको प्रभाव न्यून हुँदै गए पनि पीडितहरू बढ्ने तथा फाराम भर्ने क्रम रोकिएको छैन ।
कोरोनाका कारण कतारमा ज्यान गुमाउने नेपालीहरू पनि दिन प्रतिदिन बढी रहेका छन् । गएको बुधवारसम्म कोरोनाका कारण १७ जना नेपालीले ज्यान गुमाएको जानकारी कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले केन्द्रबिन्दुसँगको अन्तर्वार्ताको क्रममा बताए । ७ जनामा कोरोना प्रमुख कारण देखिएको र ९ जनाको प्रमुख कारण अन्य भए पनि उनीहरूमा सङ्क्रमण देखिएको बताए । मृतकहरू मध्ये १० जनाको कतारमै अन्तिम दाह संस्कार गरी सकिएको छ । बाँकी मृतकको परिवारवाट पारिवारिक सहमति पत्र ल्याउने कार्य अगाडी बढेको भारद्वाजले बताएका छन् ।
अगस्ट १ देखि कतार बाहिर रहेका आफ्ना नागरिक लगायत सम्पूर्ण आप्रवासी कामदारलाई कतार प्रवेश गर्न अनुमति दिने निर्णय गरेको छ । न्यूनतम तलबमा काम गर्ने नेपाली कामदारलाई क्वारेन्टाइनको महँगो खर्चको भार थाम्न नसक्ने हुँदा नियोगले उक्त खर्च रोजगार दाताले बेहोर्नु पर्ने प्रस्ताव सम्बन्धित मन्त्रालयमा पेस गरी सकेको र मन्त्रालयका अधिकारीहरू सकारात्मक रहेको जानकारी दिएका छन् ।
नेपालमा छुट्टीमा रहेकाहरूको आइडिको म्याद सकिएका या ओभेर स्टे भएकाहरूलाई यथाबत जागिरमा नफर्काउने र सेवा बापतको पाउनु पर्ने रकमहरू रोजगार दाताले भुक्तानी नगरेमा श्रमिकको हकको लागि दूतावासले कानुनी कदम चाल्ने प्रतिबद्धता भारद्वाजले व्यक्त गरेका छन् । कतार आएको छोटो समयमा निकै प्रशंसा पाएका भारद्वाजले आफ्नो मोबाइल तथा अफिसको नम्बरमा सम्पर्क गर्ने हरेक नेपालीहरूको गुनासो सुन्ने र टिपोट गर्ने गरेको बताए ।
उनले सामाजिक सञ्जालमा आएका स्टाटस तथा नियोगकै अफिसियल पेजमा आएका प्रतिक्रिया प्रति लक्षित गर्दै कसैको दबाब तथा प्रलोभनमा परेर नियोगले काम नगरेको र जारी गरिएको सूचना तथा सूचि बमोजिम नै कार्य भई रहेको बताउँदै नेपालमा बाढी पहिरोले बाटो अवरुद्ध गरेको हुँदा कतारबाट थप फ्लाइट गर्न नसकिएको बताए । यद्यपि केही दिनमा फलाइट सुचारु हुने जानकारी दिएका छन् । हेरौँ केन्द्रबिन्दुका लागि महामहिम राजदूतसँग दुर्गा पंगेनीले गरेको exclusive कुराकानी यो भिडियोमा :





























प्रतिक्रिया