तिलु शर्मा पौडेल
दोहा कतार ।
गएको डिसेम्बर २ तारिखका दिन बिहान रातिको ड्युटि सकेर निवास तिर फर्कँदै गर्दा आफूले चलाई रहेको गाडीलाई गलत दिशाबाट आएको ट्याङ्करले ठक्कर दिंदा दुर्घटनामा परेका लोक बहादुर महतो (नवलपरासी) को होस ६ दिन पछि कतारको सरकारी हमाद अस्पतालमा खुल्यो । त्यो दुःखद पल सम्झँदै महतो भन्छन् जब होस आयो आफैंलाई हेरें हात नै छैन पत्याउन सकिन र आफैंलाई चिमोटे लाग्यो मलाई दैवले किचेर भाग्यले निकाल्यो ।
आजसम्म पनि आफूलाई त्यो हालतमा पुऱ्याउने ड्राइभर कुन देशका थिए उनले भेउ पाउन सकेका छैनन् । दुर्घटनाका केही समय कम्पनी र साथीभाइले माया देखाए पनि समयसँगै सबैलाई बोझ बन्न पुगेको महसुस गरी ७ बर्से कतार बसाईलाई टुंग्याएर उनी फर्कँदै थिए । नेपाल जान पाउँ भनी २ पटकसम्म नेपाली दूतावासको ढोका ढकढकाउन पूगेका महतो आधा संसार लिएर नेपाल जाने जहाजमा बसे ।
कम्पनिले टिकटसम्म नदिएर शोषण गरेको छ । पर्वत फलेवासका ढलनाथ कुँवर भन्छन् काम हुन्जेल रहेछ सबैको प्यारो हुने । काम सकिए त कम्पनिले मजदुरसँग साइनो सक्दो रहेछ । गुल्मी मुसिकोटका बालकृष्ण बोहोरा , उदयपुर गढीका उद्वव पोखरेलले पनि काम हुन्जेल प्यारो भए पनि काम बन्द भएपछि कम्पनीको मालिकको मुखसम्म देख्न नपाएको र नेपाल जानलाई टिकट समेत नदिएर अन्याय गरेको गुनासो गरे । पाँच महिनाबाट जागिर गुमाएका पोखरा लेखनाथका राजकुमार रानाभाट, झापा बार दसीका मियर सिङ, म्याग्दी भगवतीका तारा जिसी नेपाल जान पाउँदा खुसी देखिए पनि पीडालाई दबाउन पर्दा झन पीडामा परेको बताउँछन् ।
विदेशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउने योजना अन्तर्गत दोस्रो पटक म्याद थप भई सञ्चालित उडानहरू मध्ये गए राति कतारबाट हिमालयन एयरलाइन्सले ६ जना महिलासहित १५४ जना ल्याएकाे छ । योसँगै कतारबाट ३,४३९ जनासहित ४२ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराई पुगेका थिए ।

हिमालयन एयरलाईन्सको सेवा प्रति कतारका नेपाली रुष्ट
नेपाल सरकारले प्रवासमा अलपत्र नागरिकलाई स्वदेश फिर्ता ल्याउनको लागि चार्टर उडान गर्न निजी क्षेत्रको हवाई कम्पनी हिमालयन एयरलाइन्सलाई अनुमति दिए पनि प्रभावकारी सेवा सुविधा नदिएको प्रति सेवाग्राही रुष्ट बनेका छन् । नेपाल एयरलाईन्सले लगेज २५ किलो दिए पनि हिमालयनले २० किलो मात्र दिएको छ । यात्राका क्रममा हमाद विमानस्थलमा कुनै समस्या परेर केही जिज्ञासा राख्न चाहेमा एयरलाइन्सका कोही पनि प्रतिनिधि नभेटिनु गैरजिम्मेवार कार्य भएको बताउँछन् प्रवासी एकता नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल । पोखरेल भन्छन् यो सरासर मजदुरको अवहेलना हो ।
उडानका क्रममा सहजिकरणका लागि विमानस्थल पुगेका राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक प्रो. रमजान अलि मिया समेत हिमालयनको सेवा प्रवाह प्रति असन्तुष्ट देखिए । विगतमा २ वटा लकेज ब्याग लैजान नदिएको स्मरण गर्दै कति वटा ब्याग कसरी लान पाउने हो त्यसको जानकारी टिकट काउन्टरमा दिनु पर्नेमा उनले जोड दिए । मियाँ भन्छन् नेपाली एयर कम्पनिले नै नेपालीलाई चर्को मूल्यमा अवहेलना गरेको बताए ।
एनआरएनए आईसिसि सदस्य रमेश भट्टले जनतालाई आवश्यक सेवा दिन नसके पनि बिमानस्थलमा सहजिकरण गर्ने प्रतिनिधी नहुँदा भाषा र कागजातको समस्या पर्दा जहाजै छुटने गरेको स्मरण गर्दै टिकट बेचेर जिम्मेवारी पूरा गरेको सम्झदा पीडित झन मर्कामा परेको कुरा बुझ्न आवश्यक रहेको बताउँछन् । आफ्नो मनपरी नीति लाद्ने गरेको स्मरण गर्दै गुल्मी सेवा समाज कतारका अध्यक्ष झविन्द्र आचार्यले नेपाल सरकारको खुकुलो नीति र अनुगमनमा कडाइ नहुनुको फाइदा निजी क्षेत्रको जहाजले लुटेको बताउँछन् । व्यापारसँग मतलब गरेको एयरलाइन्स हो आँशुलाई पैसा पारेर सहजीकरण बिनै लुटिरहेको आचार्यको भनाइ थियो ।





























प्रतिक्रिया