तिलु शर्मा पौडेल
दोहा कतार ।
कतार आएको १ महिनामा नै मेरुदण्डको हड्डी खीइएर नसामा हुने रोगबाट गम्भीर बिरामी परेका सम्से दफाली (महोत्तरी) ले ८ महिना यहाँको सरकारी अस्पतालमा बसेर उपचार गराए । पछिल्लो समय करिब ३ महिना रुममै बसे । कम्पनीले वास्ता नगरेपछि उनको अवस्था दिन प्रतिदिन जटिल बन्दै गयो । उनका सपनाका महल सबै गर्ल्याम्म लडे । नेपाल जान पाए निको पो हुन्थ्यो कि भन्ने उनको मनको आशा त्यति बेला मर्यो जब चार्टर जहाजको टिकट किन्न समेत कम्पनीले सहयोग गरेन ।
चारैतिरबाट आशाका ढोका बन्द भएका उनी बैशाखीको सहारामा झिनो आशाको त्यान्द्रो बोकेर नेपाली राजदूतावासको शरणमा पूगे । नेपाली राजदूतावासका कर्मचारीले उनको अवस्था र पीडालाई बुझी वास्तवमै सहयोगको आवश्यकताको महसुस गरी नेपाली व्यवसायी सङ्घ कतारले पीडितलाई उपलब्ध गराउने भनिएको २० वटा टिकट मध्येबाट दफालिको टिकट काटेर थप उपचारको लागि आजको उडानमार्फत स्वदेश पठाएका छन् ।
विमानस्थलमा सङ्घका महासचिव रमेश भट्टले उनलाई अन्तिम समयसम्म सहजीकरण गरिरहेका थिए भने दफालिले नियोगका कर्मचारी र संघलाई पटक पटक मेरो भगवान भनी धन्यबादका पुष्प गुच्छाले पुजिरहेका थिए ।

नेपाल सरकारले बिदेशमा कोरोनाका कारण असहज परिस्थितिमा रहेकाहरुलाई नेपाल ल्याउन थपेको म्याद केही दिनमै सकिंदैछ तर समस्या जीउका तिउँ छन् । म्याग्दी रघुगङ्गाका गोबिन्द बहादुर क्षत्री ५ महिनादेखि करार अबधि सकिएर अलपत्र जस्तै थिए । बस्नलाई समस्या नभए पनि खानलाई निकै सास्ती खेपेका उनले कतार छोड्नु नै नयाँ जीवन पाउनु मानेका थिए । पूर्बी रुकुमका टेकबहादुर दमाईलाई घरसम्म कहिले पुगिएला भन्ने चिन्ताले हिर्काइ रहेको छ । आफ्नो आँगन टेक्न पाए माटो हावाले पनि पेट भरेर बाँच्न सकिन्छ भन्ने विस्वासलाई दह्रो बनाएर कतारलाई बिदा गरे । दमाईले जस्तै पीडा भोगेका हुन् गुल्मी धुर्कोटका हेम घर्तीले ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार उडानको लागि थपेको नयाँ मिति सकिंदै गर्दा कतारबाट आज बिहानको १० बजे नेपाल एयरलाइन्सको आरए २३९२ मार्फत ५ जना महिलासहित १४९ जना नेपाल फर्किएको जानकारी राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् । दोस्रो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सको यो अठारौं तथा अन्तिम उडान हो भने हिमायलन एयरलाइन्सले आज राति अन्तिम उडान गर्दैछ ।
यात्रीहरूको यात्रा सहजीकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नियोग तथा नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यो सँगै कतारबाट कुल ३,२८५ जना स्वदेश फर्किसकेका छन् भने ४२ जनाको शव नेपाल पुगिसकेको छ ।





























प्रतिक्रिया