मन अमिलो बनाउँदै ऋण कसरी तिर्ने चिन्तामा कतारबाट आज फर्किए ३०३ जना नेपाली

मन अमिलो बनाउँदै ऋण कसरी तिर्ने चिन्तामा कतारबाट आज फर्किए ३०३ जना नेपाली

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल,
    दोहा कतार ।

साउदीको खाडीमा १३ महिना बस्दा पनि कम्पनी गतिलो नपरेर नेपाल गएँ । कतारमा त केही होला भनेर आएको, यहाँ आएको ६ महिनामै कम्पनीले काम दिन छोड्यो । ५ महिनादेखि कोरोनाले बाहिर निस्कन दिएन । म अभागी हो की पासपोर्ट बनाउँदा बार मिलेनछ कुनी ? अरूले विदेश गएर घरको तला थप्छन् मैले ऋण पो थपें त सर भन्दै निराशाको पोको फुकाए उनले । उनी मुस्ताङ थासाङ गाउँपालिका वडा न ५ लेते कुन्जेका मनबहादुर बिक हुन् ।

उमेरले २५ हाने पनि जीवनको भोगाईले उनलाई पाको बनाई सकेको प्रस्ट बुझिन्थ्यो । सहजीकरण उडानको म्याद दोस्रो पटकका लागि सरकारले थपेसँगै कतारबाट हिमालयन एयरलाइन्समार्फत नेपाल जान लागेका विकले ७ महिना बिना तलब बसेर आफ्नै पैसाले टिकट काटेर नेपाल जाँदा हमाद विमानस्थलमा पोखेको दुःखको पहाडको एक टुक्रा हो यो ।

दुःखको पहाड बिकले मात्र हैन कतारबाट गए राति नेपाल र हिमालयन एयरलाइन्समार्फत फर्कने अधिकांशको उस्तै छ। इटहरी बौकाकी कल्पना राईले ३० महिनादेखि कतारमा कार्यरत छिन् तर बिगत २ वर्षदेखि टाउको मात्र दुख्ने समस्याले गर्दा १ लाखको त प्यानाडोल मात्र खाएको स्मरण गर्दै समस्या गम्भीर बन्दै जाँदा बिरामी नै परेपछि कतार छोडेर जान लागेको बताइन् । त्यति धेरै खुल्न नचाहेकी सिराहाकी रिमा शास्त्रीको पीडा उनको भन्दा कमी थिएन । ट्रलीको पाङ्ग्रालाई खुट्टाले घुमाई रहेकी हेटौडाकी रन्जिता खड्कालाई भाग्यले कतारमा १३ महिना घुमायो । काम गरेर पैसा नपाएको भए पनि बरु मन मान्थ्यो होला तर कम्पनी नै बन्द हुँदा आफ्नो भाग्य बन्द भएको उनको सोझो बुझाई छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गए राति कतारबाट नेपाल तथा हिमालयन एयरलाईन्सले दोस्रो चरण अन्तर्गतको पहिलो सहजिकरण चार्टर उडान गरेका छन् । नेपाल एयरलाइन्समार्फत १० महिला र १३९ पुरुष सहित १४९ जनाले उडान भरेका छन् भने विभिन्न समयमा कतारमा मृत्यु भएका २ जनाको शव पनि नेपाल पठाइएको छ । त्यस्तै हिमालयन एयरलाइन्समार्फत २ महिलासहित १५४ जना उडेको जानकारी दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नियोग तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यो सँगै कतारबाट कुल २,८३१ जना स्वदेश फर्किसकेका छन् भने ४० जनाको शव नेपाल पुगीसकेको छ ।

Skip This
Skip This
Logo