एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न जेजु प्रान्तको माग

एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न जेजु प्रान्तको माग

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन्।

दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो। एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई वेवास्ता गरिएकाले विधान संशोधन गरेर जेजुको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ। दक्षिण कोरियामा एनआरएनएको एउटै कमिटी रहेकोमा जेजुमा रहेका नेपालीले प्रान्तीय समिति पनि गठन गरेका हुन्। बैठकले दक्षिण कोरियाको सदस्यतावापत बुझाउनुपर्ने रकमको पचास प्रतिशत जेजु कार्यसमितिले खर्च गर्न पाउनुपर्ने निर्णय गरेको छ।

कोरियाको सदस्यताका लागि २० हजार कोरियन बोन बुझाउनुपर्ने व्यवस्था छ। जेजु प्रान्तीय समितिले क्षेत्रीय कार्यालय व्यवस्थापन र नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि सदस्यताको पचास प्रतिशत रकम आफूले खर्च गर्न पाउनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो।

जेजु प्रान्तको अधिवेशन जुन १८ मा गर्ने निर्णय भएको छ। क्षेत्रीय कार्यसमितिको निर्वाचनमा एनआरएनको सदस्यता दर्ता प्रक्रियामा भाग नलिएको भएपनि निर्वाचनमा भाग लिन पाउनुपर्ने र कार्यसमितिको उम्मेदवारले भने अनिवार्य सदस्यता दर्ता गरेको हुनुपर्ने निर्णय बैठकले गरेको हो।

Logo