- तिलु शर्मा पौडेल
दोहा कतार
कोरोना महामारीले नेपालमा रहेको लकडाउनका कारण नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विभिन्न जटिल समस्यामा रहेका कतारमा कार्यरत कामदारहरू सहज रूपमा स्वदेश फिर्ता जान सकेका छैनन् । नेपाल सरकारले केही सहजीकरण उडान गरे पनि त्यो पर्याप्त छैन । हिजो मात्र विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दारका लागि सरकारले तेस्रो पटक एक साताका लागि उडान तालिका थप गरेको छ ।
थप उडान तालिका अनुसार खाडीका ६ वटा मुलुकबाट ४२ वटा उडान गरिने भएको छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार रियाद, कुबेत, कतार, बहराइन, सारजाह, मलेसिया, दुबई, अबुधाबी र साउदी अरबको दमामबाट चार्टर फडान गरिने भएको छ भने नेपाली राजदूतावास कतारले समस्याकाे प्रकृति तथा नेपाल जानु पर्ने कारण र त्यसको लागि पूरा गर्नु पर्ने आवश्यक मापदण्डको वर्गीकरण गरेको छ ।
जसअन्तर्गत सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरू मध्ये केहीले विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ भएको हुँदा त्यस्तो अवस्थाका यात्रुहरूले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
नेपालमा आफन्तको मृत्यु भई आफैंले काजक्रियाका लागि नेपाल फर्कनु पर्ने भएमा मृत्यु दर्ताको प्रमाणपत्र तथा नाता खुल्ने कागजातसहित [email protected] मा इमेल राजदूतावासको फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्सटेन्सन नम्बर १११ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूले आफैं नेपालमा गई थप उपचार गर्नु परेमा कतारमा मान्यता प्राप्त स्वास्थ्य संस्था वा डाक्टरको सिफारिस सहित [email protected] मा इमेल गर्न वा ४४६७६५८१ मा डायल गरी एक्सटेन्सन नम्बर ११३ मा सम्पर्क गर्न सकिने छ ।
नेपालमा आमा, बुवा, श्रीमान्, श्रीमती, छोरा, छोरीको जटिल स्वास्थ्य अवस्था रही र अस्पतालमा भर्ना भएको अवस्थामा आफैंले हेरचाह गर्न नेपाल जानु पर्ने भएमा भर्ना भएको अस्पतालबाट जटिल स्वास्थ्य अवस्था रहेको खुल्ने सिफारिस र बिरामीसँग नाता खुल्ने कागजातसहित [email protected] मा इमेल या फोन नम्बर ४४६७६५८१ मा डायल गरी एक्सटेन्सन नम्बर ११३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य समस्या देखाई घर फिर्तिको अनुरोध गर्नेहरूको लागि मान्यता प्राप्त अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय बाहेक अन्य प्रशासनिक निकायको सिफारिस अमान्य हुने भएको छ ।





























प्रतिक्रिया