पहिलो चरणको अन्तिम उडानमा कतारबाट १४९ नेपाली स्वदेश फर्किए

पहिलो चरणको अन्तिम उडानमा कतारबाट १४९ नेपाली स्वदेश फर्किए

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको दोहाबाट गए राति नेपाल एयरलाईन्सले पहिलो चरण अन्तर्गत अन्तिम अर्थात् तेह्रौं सहजीकरण चार्टर उडान गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारण प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त चार्टर उडान भएको हो ।

विगत २७ महिनादेखि कतारमा कार्यरत सर्लाही लालबन्दीका कुल बहादुर कार्कीले मलिन आवाजमा राम्रो देशमा खराब नियत भएकाहरूको चपेटामा परेको बताउँदै ३ महिना ओभर स्टे हुँदा कम्पनिले १,०६० कतारी रियाल काटेर आफ्नो पसिनालाई बालुवाको मोल गरेको गुनासो नियोगका अधिकारी समक्ष पोखे ।

क्वारेन्टाईनमा बसेको तलब काट्न नमिल्ने कतार सरकारको नियम विपरीत आफू क्वारेन्टाईनमा बस्दाको सबै तलब काटेर जहाज भाडामा समेत ठगि गर्दै कम्पनिले अन्याय गरेको मोरङका शुक्रराज लिम्बुको गुनासो थियो । बिदा सकेर नेपालबाट आएको सात महिनामै आफ्नै खर्चले फर्कनु पर्दा सबै सपना बालुवाको घर बनेको उनको सोझो बुझाई थियो ।

सन् १९९६ मा पहिलो पटक दोहा आएका गोरखा पालुङटारका मेहेराज खान नेपालका टप म्यानपावर व्यवसायी भए पनि कतारमै रहेर विभिन्न सेवा प्रदान गर्दै आएका उनी कतारको बसाईलाई टुङ्गाउँदै ह्विल चेयरमा नेपाल फर्कँदै गर्दा नेपाली समुदाय र नियोगलाई मनग्गे माया सद्भावसहित सलाम गर्दै यहाँको बसाईलाई टुङ्गाउँदै क्षितिज काटे ।

कतारमा रहेका नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका ७ महिलासहित आरए २३९२ को उडानबाट १४९ जना लिएर जहाज उडेको हो । उक्त फ्लाइटमा २ जनाको शव पनि पठाईएको जानकारी दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भट्टराईका अलावा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यो सँगै कतारबाट कुल २ हजार ३८६ जनासहित ३८ वटा शव नेपाल गईसकेका छन् । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार २८ पछि तत्काल विदेशबाट उद्धार उडान नगर्ने जनाए सँगै कतारबाट हुने सहजीकरण उडानको नयाँ मिति अन्यौलमा परेको छ ।

Logo