गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ। अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरुले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी ब्यवस्था मिलाइएको छ।
विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन्। निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसिमा तोकिएको छ।
जारी महाधिवेसनमा ४ हजार २ सय २७ प्रतिनिधिहरुले मतदान गर्न पाउने छन, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरुले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।
एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव,६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।
एनआरएनएमा सो ७४ पदका लागि संसारभरबाट १ सय २० जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजनाबीच प्रतिस्पर्धा हुँदैछ। दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ।
अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्यासी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन्।





























प्रतिक्रिया