निगमको बेवास्ताले दोहाबाट पीडित उड्न पाएनन्

निगमको बेवास्ताले दोहाबाट पीडित उड्न पाएनन्

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

नेपाल वायुसेवा निगमले २२ जुनमा हुने दोहाको उद्धार उडान स्थगन गरेको जनाएको छ । दोहा स्थित नेपाली राजदूतावासको अनुरोधमा उडान स्थगन गर्नु परेको निगमद्वारा जारी सूचनामा जनाइएको छ । तर गत जुन १८ मा दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सूचनामा नेपाल वायुसेवाको उडान २२ जुनमा हुनेबारे कुनै उल्लेख छैन । निगमको सूचनाबारे दूतावास समक्ष बुझ्दा कुनै पनि उडान स्थगन गर्न दूतावासले अनुरोध नगरेको जनाएको छ ।

दोहा स्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख लक्ष्मण खनालले दिएको जानकारी अनुसार उद्धार उडान मार्फत नेपालीहरूलाई स्वदेश फर्काउन अफिसियल प्रक्रियाको लागि मात्र कम्तीमा ४ दिन लाग्छ । उद्धार उडान मार्फत नागरिकलाई स्वदेश पठाउन कतार सरकारको प्रोटोकल विभाग, आन्तरिक मन्त्रालय तथा सिभियल एभिएसन सबैबाट अनुमति र क्लियरेन्स लिनु पर्ने व्यवस्था भएको हुनाले पटक पटक निगमलाई उडान सम्बन्धी कागजातहरू पठाउन आग्रह गरिएको भए पनि निगमले समयमै आवश्यक कागजात दिन ढिलाइ गर्दै आई रहेको छ ।

गत जुन १६ र १७ मा हुने भनिएको नेपाल वायुसेवाको उडान दूतावासको कारण स्थगन भएको भनी विभिन्न मिडियामा आएको तथा दूतावासले अनाहक आलोचना खेप्नु परेको गुनासो नियोग उपप्रमुखले गरे । हामीले व्यवस्था बारे अवगत गराउँदै पटक पटक आग्रह गर्दा पनि निगमले डक्युमेण्ट पठाउन ढिला गरेकोले जुन १६ र १७ को उडान रोकिएको खुलस्त गरे ।

निगमले १६ र १७ तारिखमा हुन नसकेको उडान २२ मा गर्ने मनसायले एक दिन पहिला मात्र २२ जुनमा उडान हुने जानकारी दिएको थियो । तर हालसम्म कुनै कागजात दूतावासमा आई नपुगेको भनाई दूतावासको छ । ‘न एक दिनमा दूतावासले स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ न त जाने नेपालीले तुरुन्तै टिकट व्यवस्था गर्न सक्छन् , हामीले निगमलाई कम्तीमा ५ वा ६ दिनको समय दिएर उडान तालिका तय गर्न सुझाई रहेका छौँ’ खनालले बताए ।

नेपाल वायुसेवा निगमको उडान स्थगन सम्बन्धी सूचनाको आधिकारिकताबारे बुझ्न निगमका नेपालस्थित स्टेसन म्यानेजर प्रेम उप्रेतीलाई बारबार फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको जानकारी नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मियाले दिएका छन् ।

Skip This
Skip This
Logo