- तिलु शर्मा पौडेल
दोहा कतार ।
गत डिसेम्बरमा चीनको वुहाङबाट फैलिएको कोरोना भाइरसले विश्व आक्रान्त पारीरहेको छ । खाडी राष्ट्र कतारमा कोरोनाको प्रकोपमा कमी आए पनि निराकरण भई सकेको छैन । आफ्ना नागरिकहरूमा समस्याहरू बढ्दै गएपछि राजदूतावासको अभिभावकत्वमा गैरआवासीय नेपाली सङ्घ कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङको संयोजकत्व तथा झविन्द्र आचार्यको सहसंयोजकत्व मा “राहत वितरण तथा उद्धार समिति” गठन गरी पीडित नेपालीहरूलाई विभिन्न चरणमा राहत वितरण गरिरहेको छ ।

कहाँबाट कति आयो राहत सामग्री ?
कोरोनाका कारण कतारमा कसैलाई भोकै बस्न नदिने कतार सरकारको नीति बमोजिम नेपाली समुदायको लागि रेडक्रस तथा कतार च्यारिटी मार्फत नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली सङ्घ कतारलाई प्राप्त राहत सामग्री वितरण गरिएको छ । यसरी सहयोग गर्ने मध्ये झापाली समाज कतारबाट ३०० केजी चामल, धराने आउट अफ धरानेबाट ३०० केजी, तमु समाज कतारबाट १५०, तमु प्येल्हु सङ्घ कतार २५५ केजी, स्याङ्जा सहयोग समाजबाट ३०० किलो चामलसहित १०० किलो दाल, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदाबाट १५० केजी, प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १५०, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४६०, मुक्तार आलमबाट ३५ केजी चामल सहित ५ किलो दाल, सोयाबिन १० पाकेट र नुन ५ पाकेट सहयोग प्राप्त भएको छ । यस्तै सङ्घको श्रमिक कोषबाट १ हजार ४६४ किलो चामल उक्त राहतकोषमा प्राप्त भएको हो ।
कति जना लाभान्वित भए ?
मार्चको अन्तिम साताबाट वितरण सुरु गरिएको राहत हिजो शनिबार राति सम्ममा १८ औं चरण पूरा भएको छ । शनिबारसम्म ५ हजार २६९ जनाले राहत लिएको तथ्यांक नेपाली नियोग तथा सङ्घमा रहेको जानकारी संयोजक गुरुङले दिएका छन् ।

के छ राहत सामग्रीभित्र ?
कतार च्यारिटीले निःशुल्क उपलब्ध गराएको ५ हजार कार्टुन राहत सामग्री करिब १ करोड ६० लाख नेपाली रुपैयाँ बराबरको रहेको भन्दै एनआरएनए अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जालमा स्ट्याटस लेखे पनि प्रत्यक्ष अवलोकनका क्रममा उक्त मूल्य बराबरको सामग्री नरहेको पाइएको छ । उक्त सामग्रीमा चामल २ किलो, तेल १.८ लिटर , घिउ ५०० ग्राम, नुन १ किलो चिनी १ केजी, टोमेटो पेस्ट ४०० ग्राम, पास्ता ८०० ग्राम, दूध ४०० ग्राम , चिया पत्ति एक प्याकेट, चिल्ली पाउडर १०० ग्राम र रातो दाल १ केजी रहेको छ । उक्त सामग्री कतिपय पीडितको आवश्यकता र अवस्था अनुसार पर्याप्त नभएको हुँदा सङ्घले पीडितहरूलाई थपेर वितरण गर्ने गरिएको संयोजक गुरुङले जानकारी दिएका छन् ।
कसरी प्राप्त हुन्छ राहत ?
पीडित कामदारले सङ्घले जारी गरेको आवेदन फाराम मार्फत वा ह्वाटएप नम्बरमा कतारी आइडी नम्बर, कम्पनीको नाम, मोबाइल नम्बर, नेपाल र कतारको ठेगानासहितको विवरण पेस गरे पश्चात् सङ्घले गठन गरेको छानबिन समितिले छानबिन गरी वास्तविक पीडितलाई समितिका पदाधिकारी तथा स्वयं सेवकहरूले वितरण गरिरहेको जानकारी सहसंयोजक झविन्द्र आचार्यले गराएका छन् ।
अब कति बाँकी छ राहत सामग्री ?
कतार च्यारिटी लगायत विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट प्राप्त सहयोगहरू मध्येबाट सात सय भन्दा बढी कार्टुनहरू बाँकी रहेको छ । कतिपय पीडितहरूले तेस्रो तथा चौथो पटकसम्म पनि राहत लिएर गुजारा चलाइरहेको जानकारी आचार्यले दिएका छन् । कतारमा केही समय यता लकडाउन तथा बन्द निजी क्षेत्र खुलेसँगै पीडितहरू घटेका छन् ।































प्रतिक्रिया