प्रवासमा अलपत्र नेपालीहरुलाई धमाधम नेपाल ल्याईंदै

प्रवासमा अलपत्र नेपालीहरुलाई धमाधम नेपाल ल्याईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले तेस्रो मुलुकमा रोकिएका नेपाली स्वदेश फर्कने क्रम बढेको छ । सरकारले स्वदेश फर्कन चाहने नेपालीहरूलाई विभिन्न चरणमा ल्याउने निर्णय गरेपछि यो क्रम बढेको हो ।

सरकारले जेठ २१ देखि असार १ गतेसम्ममा भारत वाहेकका विभिन्न मुलुकबाट १ हजार १ सय १७ जनालाई नेपाल ल्याइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार सदनमा दिएको जानकारी अनुसार, जापानबाट १३ जना , मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, युएईबाट १ सय ६९ जना, अष्ट्रेलियाबाट ११ जना, कुवेतबाट ४ सय ४८, अफगानिस्तानबाट १८ जना, बंगलादेशबाट २ सय ५८ जना , हङकङबाट ७ जना र ओमनबाट १ सय ६६ जना ल्याईएको हो ।

यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहँदा विभिन्न दुर्घटनामा तथा उपचारको क्रममा ज्यान गुमाएका २० नेपालीको शव लिएर कतारको ध्वजाबाहक एयरलाइन्स कतार एयरवेज शुक्रबार नेपाल आएको छ ।

यस्तै कोरियाबाट प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपालका लागि उड्ने छ ।

आँउदो असार १० र १२ गते बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासको पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारी अनुसार असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको हो । लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एयरवेजमार्फत पहिलो दिन १ सय ५८ जना र बाँकि दोस्रो उडानमार्फन स्वदेश फर्काउने तयारी रहेको छ । दुई हप्ता अघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो ।

यता, भारतबाट स्थलमार्ग हुँदै चैत महिनामा १२ हजार ६ सय ५७ जना, बैशाखमा ११ हजार ७ सय ९९ र जेठमा २ लाख ४१ हजार ८ सय ६२ जना नेपाल आएका छन् । त्यसैगरी असार ३ गते सम्म ७ हजार बढी नेपाल आएको सरकारी तथ्यांकले देखाएका छ । त्यसैगरि असार १ गते १ हजार ४ सय १० जना , २ गते ४ हजार ८० जना र ३ गते २ हजार १२ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।

Logo