काठमाडौँ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण यतिबेला सबैतिरको अर्थतन्त्र थलिएको छ । यसबाट नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तब्य अष्ट्रेलिया पनि अछुतो छैन । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीहरुको दैनिक जनजीवन कोरोनाकै कारण कष्टकर बन्न थालिसकेको छ ।
उच्च शिक्षाको गन्तव्य मुलुक अष्ट्रेलियाका लागि नेपाली शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रेजेन्टेटिभ्स इन नेपाल अर्थात ऐरीले विद्यार्थीहरुको यो समस्या तत्कालै समाधानका निम्ती पहल गर्न सम्बन्धित मुलुकको शैक्षिक संस्था एवं त्यहाँको सरकारसँग अनुरोध गरेको छ ।
अष्ट्रेलियामा अनुमानित ६३ हजारको संख्यामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थी रहेका छन् । अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाल तेस्रो ठूलो स्रोत समेत हो । त्यसैले अष्ट्रेलियालाई प्रतिनिधित्व गर्ने नेपाली कन्सल्ट्यान्सिहरुको संस्था एेरीले अष्ट्रेलिया सरकारलाई कोरोना भाइरसका कारण संकटमा रहेका नेपाली विद्यार्थीलाई कम्तिमा एक हजार अमेरिकी डलर बराबरको कल्याणकारी सहयोग गर्न आग्रह गरेको छ ।
अष्ट्रेलियामा रहेका हजारौं नेपाली विद्यार्थी आफ्नो दैनिकी चलाउनका साथै कलेजको शुल्क तिर्न केही न केही रोजगारीमा थिए । तर विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण सबै ब्यापार ब्यावसाय बन्द रहेकाले त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीलाई पनि परेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जारी संकट ६ महिनासम्म लम्बिने संकेत गरिसकेका छन् । त्यसैले आफ्ना नागरिकका लागि घोषणा गरिएको राहत प्याकेजमा नेपाली विद्यार्थीलाई पनि समाहित गर्न ऐरीले अष्ट्रेलियाली सरकारलाई आग्रह गरेको छ ।
भाइरस नियन्त्रण गर्न र अष्ट्रेलियामा रहेका प्रत्येक नागरिकलाई जोगाउन अष्ट्रेलियाली सरकारले चालेको कदमको ऐरीले स्वागत समेत गरेको छ ।































प्रतिक्रिया