बेलायतबाट नेपाल प्रवेश प्रतिबन्धपछि उतै अड्किए नेपाली

बेलायतबाट नेपाल प्रवेश प्रतिबन्धपछि उतै अड्किए नेपाली

केन्द्रबिन्दु
0
Shares

लन्डन ।

भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्।

यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो। टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु।’

बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए। त्यसपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई सताएको छ। ‘जनवरी १ पछि के गर्ने ? अझै अन्योलमा छु’, उनले भने।

आफूजस्तै अलपत्र परेका नेपालीका लागि नेपाल सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ। ‘कोभिड—१९ परीक्षणको नतिजा नेगेटिभ देखाउन सक्ने र नेपाल पुगेर अनिवार्य क्वारेन्टाइनमा बस्न तयार हुने नागरिकलाई देश प्रवेश गर्न सक्ने व्यवस्था गरियोस्’, उनले भने, ‘आवश्यक सतर्कता र सुरक्षासहित प्रतिबन्ध फुकुवा गर्ने विकल्प खोजिनु पर्छ।’

लामो समयदेखि बेलायत बस्दै आएका पूर्वगोर्खा हीराधन राई पनि यात्रा प्रतिबन्धको चेपुवामा परेका छन्। नेपालमा आइतबार बुवाको निधन भएपछि राई अहिले काजकिरियाबाट वञ्चित बनेका छन्। ‘त्यसै त पिता गुमाउनुको पीडा छ, त्यसमाथि अन्तिम संस्कार र काजकिरियामा समेत सहभागी बन्न नपाउँदा मानसिक रूपमा झन् ठूलो आघात पर्दोरहेछ’, राईले भने।

रेग्मी र राई जस्तै हाल जारी यात्रा प्रतिबन्धका कारण जरुरी अवस्थामा पनि नेपाल जान नपाउने थुप्रै नेपाली छन्। ‘कतिपयले हामीलाई सम्पर्क गर्नुहुन्छ र समस्या पोख्नुहुन्छ। नेपाल जाने व्यवस्थाका लागि पहल गरिदिनुपर्‍यो भन्नुहुन्छ’, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले भनिन्, ‘नेपाल सरकारले सतर्कता र सावधानी अपनाउने कार्यको हामी पनि सम्मान गर्छौं। तर, आफ्ना नागरिकले व्यहोरेको कष्ट पनि हेरिदिनुहुन हामी आग्रह गर्दछौं।’ जरुरी हुनेहरूलाई पीसीआर रिपोर्ट र नेपालमा अनिवार्य क्वारेन्टाइन राखेर भए पनि फर्किन दिनुपर्ने उनको सुझाव छ।

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा प्राध्यापनरत जनस्वास्थ्य विज्ञ डा. पदम सिम्खडाले बेलायतबाहेक अन्य मुुलुकमा पनि नयाँ भाइरस भेटिँदै गएकाले यात्रा प्रतिबन्ध कायम राखिराख्न सम्भव नहुने बताए।

‘सुरुमा कोभिड देखिने देशहरूबाट अरू देशले पनि यात्रा प्रतिबन्ध लगाएकै हुन्। तर पछि सबैतिर फैलिएपछि ती प्रतिबन्धहरूको औचित्य रहेन’, डा. सिम्खडाले भने, ‘यो नयाँ भाइरसको हकमा पनि अब त्यस्तै प्रवृत्ति दोहोरिने देखिन्छ।’ मुलुकभित्र सतर्कता र सावधानीका लागि प्रभावकारी व्यवस्था नभएको खण्डमा भने यात्रा प्रतिबन्धकै सहारामा भए पनि संक्रमण रोक्ने प्रयास गर्नु आवश्यक रहने डा. सिम्खडाको राय छ।अन्नपूर्णबाट

Logo