काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका प्रख्यात गायक विजय लामालाई अमेरिकाको न्युयोर्क सिटीमा सम्मानित गरिएको छ । न्युयोर्क स्टेट असेंब्ली मेम्बर स्टेबन रागले गायक लामालाई विशेष सम्मान प्रदान गरेका हो ।
३० वर्ष लामो प्रेरणादायी सांगीतिक यात्रामा गायक लामाले विश्वका आधा भागमा आफ्नो प्रस्तुति दिइसकेका छन् । अझ रोचक कुरा के छ भने, उनको व्यावसायिक करियरको पहिलो अन्तर्राष्ट्रिय सांगीतिक यात्रा पनि अमेरिकाबाट सुरु भएको थियो ।
सम्मान ग्रहण गर्दै न्युयोर्कबाट लामाले भने, “यो सम्मानले मलाई व्यक्तिगत रूपमा गौरवान्वित बनाएको छ । यो समग्र नेपाली सांगीतिक क्षेत्रकै सम्मान हो । यसले मलाई संगीत कर्ममा अझ अघि बढ्ने हौसला र ऊर्जा प्रदान गर्नेछ ।”
आधा दर्जनभन्दा बढी म्युजिक एल्बम जारी गरिसकेका लामाले नेपालका प्रतिष्ठित राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छन् । उनी विभिन्न सांगीतिक कार्यक्रम तथा प्रतियोगितामा निर्णायकको रूपमा पनि सफल भूमिका निर्वाह गरिसकेका छन् ।
हाल अमेरिकामा सांगीतिक भ्रमणमा रहेका गायक विजय लामाले दर्शक तथा श्रोताको मन जितिरहेका छन् । उनका आगामी प्रस्तुतिहरू थप रोचक र उत्साहजनक हुने अपेक्षा गरिएको छ । यो सम्मानले नेपाली संगीतको अन्तर्राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।































प्रतिक्रिया