राजदूत शाक्यको पहलमा इजरायलबाट २० करोडको स्वास्थ्य सामग्री आइपुग्यो

राजदूत शाक्यको पहलमा इजरायलबाट २० करोडको स्वास्थ्य सामग्री आइपुग्यो


इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा इजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ। 

स्वास्थ्य सामग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’मार्फत ती सामग्री आज बिहान ११ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ।
 
विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीलाई ती सामग्री हस्तान्तरण भएको पनि राजदूत शाक्यले जानकारी दिएकी छिन्। 

‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोगस्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनीन्, ‘करीब २० करोड रुपैंयाँ जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छ।’ 

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मलगन लगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्। यसअघि पनि राजदूत शाक्यले नेपालका लागि इजरालकातर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरु जुटाउन उल्लेख्य भूमिका खेल्नु भएको थियो।  

‘कोभिड—१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा. शाक्यले बताइन्। उनका अनुसार यसका लागि प्राविधिक विज्ञहरुले नेपालको सिसिएमसीसँग जुम मिटिङमार्फत आवश्यक परामर्श दिन थालिसकेका छन्। 

‘इजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ प्रधानमन्त्री नियुक्त भएको तथा इजरायलमा नयाँ सरकार बनेको अवस्था छ,’ शाक्यले भने, ‘ईजरायलमा यूद्ध चलिरहेको र अस्थायी यूद्धविराम भए पनि छिटपुट युद्ध भइरहेको अवस्था छ। यस्तो प्रतिकूल अवस्थामा पनि नेपालका लागि सहयोग गर्ने अवसर पाउँदा खुशी लागेको छ,’ शाक्यले भनिन्, ‘यो सहयोग जुटाउन सहयोग गर्ने इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपाली सबैलाई धन्यवाद भन्न चाहन्छु।’ 

विश्वमा पहिलो ‘मास्क फ्री’ देशका रुपमा इजरायलले घोषणा गरेको थियो। इजरायलमा कोरोना करीब नियन्त्रणमा आइसकेको र त्यहाँका जनताले मास्क लगाएर हिंड्नु नपर्ने अवस्था छ। 

नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो। ‘इजरायलमा नेपाली ध्वजावाहकको पहिलो औपचारिक उडान (मेडिकल कार्गो चार्टर्ड उडान) सम्भव भएको छ। 

Logo