एनआरएनए निर्वाचन २० अक्टोबरमा

एनआरएनए निर्वाचन २० अक्टोबरमा


गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो ।

एनआरएनएको निर्वाचन समितिले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ ।

संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको आरोपसहित असन्तुष्ट समूहका तीन जनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।

‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, समितिको विज्ञप्तिमा भनिएको छ । 

निर्वाचन सम्पन्न गर्नका लागि संघले अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति बनेर सो समितिले गत जुलाईदेखि काम गरिरहेको उल्लेख गरिएको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरूलाई नियाल्दै आएको निर्वाचन समितिले विवाद समाचार गरेर आगामी २० अक्टोबर (कात्तिक ३ गते) नै चुनाव गराउने जनाएको छ ।

समितिका अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ भने हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम भइरहेको छ ।  

Logo