नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रीक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन्। सुनगाभा इन्टरटेनमेन्टको प्रस्तुतिमा ब्रिटिस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीको सहभागीतामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारहरुको सहकार्यमा उनीहरुले दमदार सांस्कृति प्रस्तुति दिएका हुन्। ब्रिटीस् गोर्खाज् एण्ड नेप्लीज कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाई स्वागत गरे।
‘नेपाली गीतसंगितको प्रवर्द्धनसहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं’ आयोजक नन्दराज राईले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’ लिम्बु र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्बु, विवेक मगर र डान्सर सुब्रिना लिम्बुले साथ दिएका थिए।
नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’, जस्ता गीत गाउँदा हल पुरै गुञ्जिएको थियो।
सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएर सांस्कृतिक धमाकामा कम्मर मर्काई मर्काई नाचे । शेर्पा, राई, गुरुङ, लिम्बु, मगर लगायतका जातजातिले आफ्नो पहिरन पहिरिएका थिए । ‘विदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन् भनेर यस कार्यक्रममा देख्न पाएँ ’ कार्यक्रममा सहभागी तारा राईले खुसी हुँदै सुनाइन् ‘जहाँ पुगे पनि आफ्नो जन्मभूमि र त्यहाँका दाजुभाईप्रति प्रगाढ प्रेम छ।’
प्रतिक्रिया