कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नु पर्ला ? के भन्छन् प्रवासी नेपालीहरु ?

कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नु पर्ला ? के भन्छन् प्रवासी नेपालीहरु ?

केन्द्रबिन्दु
0
Shares

दाेहा कतार ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्से कार्यकाल यही भदौ २९ गते देखि समाप्त हुँदैछ । कार्यकालको समाप्तिसँगै सरकारले उनलाई थप चार वर्षका लागि पुनः नियुक्त गर्नु पर्ने धारणा तथा मागहरू विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अभिव्यक्त भई रहेका छन् । गत मङ्गलवार त उनलाई सरकारले दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको खबर भाइरल भयो । सोसल मिडियामा धेरैले उनलाई बधाई दिए । केही अनलाइन मिडियाले समेत कुलमानलाई पुनः नियुक्त गरिसकेको समाचार दिए । कतारमा कार्यरत नेपाली समाजका अग्रज तथा सामाजिक व्यक्तित्वहरूको कुलमान प्रतिको धारणा बुझ्न घिसिङको लोकप्रियता, प्राधिकरणमा उनको दोस्रो कार्यकालको लागि पुनः नियुक्ति सहित लोडसेडिङको अन्त्य हुनुमा कुलमानको भूमिका महत्त्वपूर्ण मान्नुहुन्छ रु उनको पुनर्नियुक्ति हुनु पर्छ या पर्दैन ? कुलमान बाहेक जो कोही भएको भए पनि लोडसेडिङ घट्थ्यो कि नाइँ भनेर सोधेका थियौं । हेरौँ उनीहरूको जवाफको सम्पादित अंश ।

बिल गुरुङ, कास्की

१८ घण्टा लोडसेडिङ भोगिरहेका हाम्रो मुलुकका जनताले कुलमान घिसिङको नेतृत्वमा विद्यूत प्राधिकरणले जुन छलाङ मार्योह त्यो एक प्रकारले चमत्कार थियो भनेर मान्नेहरूको सङ्ख्या धेरै छ । तर व्यक्तिगत रूपमा मैले यसलाई चमत्कारको रूपमा नलिईकन एउटा लगनशील, कर्मठ र ईमान्दार कर्मचारीले गर्नु पर्ने कर्तव्य कुलमान घिसिङको नेतृत्वको प्राधिकरण टिमले पुरा गरेको मान्दछु । निश्चित रूपमा नेपालमा लोडसेडिङ अन्त्य गर्नुमा धेरै पक्षहरूको योगदान छ तर पनि नेतृत्वमा देखिनु पर्ने ईमान्दारिता र कर्तव्यनिष्ठता कुलमान घिसिङमा देखिन्छ जसले गर्दा यसको पहिलो श्रेय उनैलाई जानु पर्छ भन्ने मान्यता राख्दछु ।

धेरै समस्याहरूको चाङमा बसेर पनि नेपाल विद्यूत प्राधिकरणमा जुन ढङ्गले कुलमान घिसिङ र उनको टिमले काम गरेको छ त्यसलाई स्थापित गर्न र एउटा मानक सेट गर्न पनि अर्को एक कार्यकाल पुनः उनैलाई नियुक्ति दिन आवश्यक देख्दछु । अहिले लोडसेडिङ अन्त्य भएको छ तर विद्यूत उत्पादन र खपतमा हुनु पर्ने वृद्धिको अनुपातलाई बढाउन जरुरी छ । वर्तमान सरकारको लागि पनि उनको पुनः नियुक्ति एउटा भए पनि प्रशंसनीय कार्यमा पर्न सक्छ । सरकारले गरेको प्रत्येक नियुक्ति विवादको घन चक्करमा परिरहेको परिप्रेक्ष्य कुलमानको नियुक्तिले आम जनताको समर्थन पाउने पक्का छ ।

आवश्यकता अनुसारको विद्यूत उत्पादन र प्रसारण भइदिएको भए हामीले १८ घण्टा लोडसेडिङ भोग्नु पर्ने थिएन । हाम्रो मुलुकमा विद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अपेक्षाकृत कार्यसम्पादन हुन सकिरहेको छैन । यसमा सही व्यक्ति सही ठाउँमा नहुनु प्रमुख कारण रहेछ भन्ने कुलमान घिसिङको चर्चाले पुष्टि गर्दछ । तत्कालीन सरकारले एउटा जोखिम मोलेर नै कुलमान घिसिङलाई विद्यूत प्राधिकरणमा ल्याएको थियो तर सही निर्णय रहेछ भनेर अहिले पुष्टि भएको छ । लोडसेडिङ हटाउन जसले पनि सक्थ्यो र सक्छ तर उसमा लगनशीलता र कर्तव्यनिष्ठता साथै व्यवस्थापकीय क्षमता हुन अत्यन्त जरुरी छ, जुन कुलमान घिसिङमा भएको पुष्टि भैसकेको छ । कुलमानको पुनः नियुक्ति फगत नियुक्ति मात्रै नभएर कर्तव्यनिष्ठ कर्मचारीलाई प्रोत्साहन पनि हो ।

मोहम्मद अजिज अलि, स्याङ्जा

लोडसेडिङ भन्ने बित्तिकै कुलमान घिसिङको नाम आउनुले प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालको विशेष गरेर राजधानीको लोडसेडिङ हटाएको श्रेय उनलाई गएको भन्ने कुरा स्पष्ट छ । लाखौँ नेपालीहरूले भोगेका विशेष गरेर काठमाडैंमा घाम ढल्के संगै अँधेरो हुने सडकहरूका बत्ती मुस्किलले केही ठाउँमा मात्र बलेका हुने इन्भर्टर र जेनरेटरको भरमा होटलहरुमा टुकी जस्ता कम वार्डका बल्ब बलेका हुन्थे । बर्षौंदेखि १६ र १८ घण्टा सम्म पनि लोडसेडिङ भोगेका जनताले कुलमान घिसिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बने सँगै केही महिनामै २४ घण्टा बत्ती आउनु र देशका अन्य ठाउँमा पनि पहिलेको तुलनामा बिद्युत वितरण व्यवस्थित हुनु संयोग मात्र पक्कै हैन उनको कार्यशैलीको कारण पनि हो भन्नेमा विमति रहेन ।

लोडसेडिङमा देशलाई बर्षौं देखि राख्ने बिद्युत प्राधिकरणकै कर्मचारीको हात रहेको भन्ने खुलासा पनि उनी निर्देशक बने सँगै चर्चा चलेको थियो यसले के स्विकार्नु पर्छ भने उनले आफ्नो जिम्मेवारी इमानदारी पूर्व निर्वाह गरे जसमा उनलाई सबैको साथ मिल्यो र यो सम्भव भयो ।

लोडसेडिङको अन्त्य भए सँगै त्यसको श्रेय लिने होडबाजी नै चल्यो तत्कालीन उर्जामन्त्रीले आफूलाई उज्यालो मन्त्री सम्म भन्न भ्याए र कुलमानलाई ओझेलमा पार्न खोजे अहिले कुलमानको कार्यकाल सकिन लागे सँगै दोस्रो पटक नियुक्ति दिन जनस्तरबाट आवाज उठे पछि राजनैतिक तरङ्ग बनेको छ । नेपालमा लोडसेडिङको अन्त्य गर्न विभिन्न योजनाहरू बनाउने अघिल्ला सबै पार्टीका सरकारहरूको भूमिका पनि महत्त्वपूर्ण रहेको थियो नै त्यसलाई छोटो समयमा सार्थकता दिने काम कुलमानले गरे जुन महत्त्वपूर्ण पाटो थियो । कुलमान स्वयमले पनि आफू एक्लैको मात्र प्रयासले यो सम्भव भएको हैन भनेर बोली रहँदा उनले प्रत्यक्ष अप्रत्यक्ष सबैको भूमिका रहेको भनिसकेका छन् यस्तो अवस्थामा यसलाई राजनैतीक रङ्ग दिनु सही हैन पूर्व माओवादी र पूर्व एमालेहरू बीचको आन्तरिक किचलो कुलमान घिसिङमा समेत स्पष्ट देखिएको छ भ्रष्टाचार र अनियमिततामा लिप्त बनेर जनमुखी काम गर्न नसकेको वर्तमान सरकारले राजनीतिक पूर्बाग्रही भन्दा माथि उठेर काम गर्ने व्यक्तिलाई निरन्तरता दिएर देशलाई घाटा हुँदैन भन्ने मेरो पनि मान्यता रहेको छ ।

अमिना खान, मकवानपुर

हामी सारा नेपालीलाई अन्धकार तथा लोडसेडिङको मारबाट उज्यालो दिने काम कुलमान घिसिङ जीको टिमले गरेको छ । जुन हामी सारा नेपाली ले २४ घण्टामा जम्मा ४र५ घण्टा मात्र बत्ती आउँथ्यो । हरेक दिन कष्टदायक र अप्ठ्यारो अवस्था हामी सारा नेपाली ले भोग्नु परेको थियो । अझ काठमाडौँ तथा सहरहरूमा बसोबास गर्ने जनता लाई झनै बडी समस्या थियो । अँध्यारोको मौकामा चोरी लूट मार बढी रहेको थियो । बिहान बेलुका घरबाट बाहिर निस्किन पनि डरलाग्दो थियो । म आफैले पनि त्यस्ता प्रकृतिका समस्या झेलको छु । बिहानी मिर्मिरेमा छोरीहरूलाई एक्लै स्कुलरकलेज पठाउन पनि डर लाग्दो थियो । विद्यार्थीहरू लाई पढ्न र हरेक काम जुन बत्ती बाट गर्नु पर्ने त्यो सबै रोकिएको हुन्थ्यो । अनि जब बत्ती आयो भनेर खुसी हुने गर्थें फेरि बत्ती जाने थियो, फेरि निराश हुन्थ्यो । तर अहिले कहिले पनि लोडसेडिङ भएको छैन यहाँसम्म कि तिहारमा पनि रातभर बत्ती बाल्न पाइएको छ पहिले अँध्यारो परेर बस्नुपर्ने अवस्था थियो अहिले निराश हुनुपरेको छैन ।

सबै नेपालीको घरमा उज्यालो छाएको छ । अनि किन नमाग्ने कुलमान घिसिङको पुनः नियुक्ति रु कुनै पनि कामको लागि टिमको भूमिका हुन्छ तर महत्त्वपूर्ण भूमिका टिम लिडरको हुन्छ । त्यो महत्त्वपूर्ण भूमिका कुलमान घिसिङ जीले खेल्नु भएको छ । मेन टाउको सही भयो भने हात खुट्टा र सबै अङ्गले काम गर्छन् त्यसैले मेन लिडर सीप राम्रो छ भने हरेक समस्याको समाधान हुन्छ, अनि प्रगति र उन्नतिको बाटो तिर लम्किन्छ । कुलमान घिसिङ जीको फेर एक पटक नियुक्ति हुनुपर्छ यस्तै खालका नेतृत्वको आवश्यकता नेपालका हरेक विभाग तथा संस्थानमा आवश्यक रहेको छ । कुलमान बाहेक जो कोही भएको भए पनि लोडसेडिङ घट्थ्यो किनभने त्यो राजनैतीक प्रतिवद्धता थियो भन्ने भनाइ प्रति म सहमत छैन ।

विक्रम कार्की, म्याग्दी

कुलमान एक कुशल प्रशासक हुन् उनको अथाह मेहनतका कारण देशले एउटा अन्धकार युगबाट उज्यालो युगमा प्रवेश गरेको हो । यसमा कुलमानको महत्त्वपूर्ण भूमिका छ । एउटा कुरा के सत्य हो भने केही पूर्वाधार हरू रेडी हुँदै थिए प्रसारण लाइन जोडिँदै थिए त्यो महत्त्वपूर्ण समयमा राम्रो नेतृत्त्व तथा व्यवस्थापन गरेर कुलमानले कामसँगै सबै जनताको मन पनि जितेका छन् । धेरै काम अधुरा छन् जुन कुलमानलाई राम्रो सँग ज्ञान छ । अर्को कार्यकाल काम गर्दा सहजै बाँकी कार्यका चुनौतीलाई पार लगाउँदै निश्चित बिन्दुमा पुर्यौउँन सक्छन् ।

जसको लागि उनको पुनः नियुक्ति अपरिहार्य देखिन्छ । सामाजिक संजाल प्रयोगकर्ता पनि उनको पक्षमा देखिएका छन् स्मरण रहोस् विश्वमा सामाजिक सञ्जालका शक्तिका कारण ठूला परिवर्तन पनि भएका छन् । सही ठाउँमा सही व्यक्ति चुन्न सरकार चुक्नु हुँदैन उहाँको ठाउँमा अर्को आएर गर्न नसक्ने चाहिँ होइन यो भन्दा रामो पनि हुन सक्छ म सधैँ सकारात्मक सोच्ने गर्छु तर अहिलेको समय गर्ला नगर्ला भनेर सोच्न भन्दा पनि उहाँलाई नै नियुक्ति गर्दा देश जनता सरकार सबैको लागि भलो हुन्छ । नेपाली जनतालाई लोडसेडिङ भनेको के हो भन्ने कुरा बिर्साउने तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मासहित जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने कुलमान घिसिङसहितको सिङ्गो टिमलाई हार्दिक धन्यवाद । बारबार विवादास्पद निर्णय गरेर विवादित बन्दै आएको नेकपा सरकारलाई कुलमानको पुनः नियुक्ति जनताको मन जित्दै प्राधिकरणलाई नाफामा लगेर देशमै रोजगार दिने एक उद्येगको रूपमा विकास गरी वाहिवाही पाउने सुनौलो अवसर पनि हो ।

शिव भुजेल, झापा

वास्तवमै लामो समयबाट हामी नेपाली जनताले भोग्दै आएको १८ घण्टाको लोडसेडिङ कुलमान घिसिङको नियुक्ति पश्चात हटेर गयो जुन हामीमा चमत्कार जत्तिकै भयो किनकि कसैले सोचेको थिएन यति छोटो समयमा यो सम्भव रहला तर दृढ सङ्कल्प, काम गर्ने इच्छाशक्ति र कुशल नेतृत्वबाट घिसिङले गरेर देखाए ।

यस बखत उनको कार्यकाल सकिँदैछ र उनको पुनः नियुक्तिका लागि जनस्तरबाटै माग भइरहेको छ । मेरो धारणा पनि घिसिङले अघि सारेका प्राधिकरणका आगामी योजनाहरू र सञ्चालन भईरहेका प्रोजेक्टहरू कुशलतापूर्वक सम्पन्न गर्नका निमित्त पनि उनको पुनः नियुक्ति जरुरत छ उनैले मात्रै गर्ने कुरामा हामी विश्वास गर्न सक्छौं । तपाईंका प्रश्न अनुसार कुलमान बाहेक पनि लोडसेडिङ हट्ने थियो किनकि त्यो राजनैतीक प्रतिबद्धता थियो भन्ने कुरामा हाम्रो राजनैतीक प्रतिबद्धतामा हामी आमजनताले कतिसम्म विश्वस्त हुन सक्छौं, त्यो मैले व्याख्या गर्नु नपर्ला सायद । यद्यपि कुलमानको कुशल नेतृत्व , इच्छाशक्ति र दृढ सङ्कल्पको परिणाम हो लोडसेडिङको अन्त्य र घाटामा चलेको प्राधिकरण नाफा कमाउने संस्थाका रूपमा परिणत हुनु । त्यसैले यस पटक घिसिङको विकल्प खोज्नु हुन्न यो सरकारले । आम जनताको भावनाको सम्बोधन गर्दै घिसिङको नियुक्ति गर्नु पर्दछ ।

चिरञ्जीवी तिम्सिना, मोरङ

नेपालको इतिहासमा विद्यूत प्राधिकरणमा कुलमान घिसिङ र उनको नेतृत्वले एउटा इतिहास रच्न सफल भएको छ । सामाजिक सञ्जाल र हरेक पत्रपत्रिका नै नियाल्ने हो भने पनि सधैँ अँध्यारोमा बस्न बाध्य बनाइएका नेपालीहरूले कुलमान घिसिङलाई उज्यालोका दाता नेपालको वास्तविक हिरोको उपनाम दिएको पाइन्छ । जसरी कुलमान घिसिङले वाहिवाही कमाएका छन् त्यो भन्दा बढी उनको नेतृत्वमा बसेर काम गर्ने कर्मचारीहरूलाई जान्छ । मात्र कुलामान घिसिङ एकलको प्रयासले यती चाँडो सम्भव हुने थिएन होला जसको लागि कयौँको परामर्श र सबैको अथक प्रयासका कारण आज नेपालीले उज्यालोमा बस्दै अनुभूति गर्न पाएका छन् । नेपालीले उज्यालो पाउनुमा कुनै राजनीतिक योजनामा परेका कारण हैन यसरी आफ्नो घोषणा पत्रमा चुनाव खजाना बनाउने गरेको हामीले कयौँ देख्दै र भोग्दै आइरहेका हौ ।

यदि कुलमानको नेतृत्व नरहेको भए कमिसनको खेलमा हामीलाई यसरी नै अँध्यारैमा राख्ने थिए तसर्थ नेपालको बिद्युत प्राधिकरणमा कुलमान जस्तै अरू कसैको नेतृत्व हैन कुलमानकै नेतृत्वको आवश्यकता छ । जस्तै त जापनिज सामान जस्तै चाइनिज सामान पनि हुन्छ तर त्यसले बराबर काम गर्न सक्दैन नेपाली राजनीतिमा चितामा नचढुन्जेलसम्म सत्तामा राज गर्न मिल्ने अनि आफ्नो कामबाट ऐतिहासिक सफलता कमाउन सफल कुलमान घिसिङको कार्यकाल दोहोर्या उन न मिल्ने रु त्यसैले कुलमानको कार्यकाल दोहोरिनु नेपाल र नेपालीको आवश्यकता हो । जिम्मेवारीलाई कर्तव्य सम्झेर जिम्मेवारी पूर्ण काम गर्ने नेतृत्वको आवश्यक छ ।

केशव खनाल, कपिलवस्तु

यति बेला आम नेपालीहरुकाबिच तरङ्गित भएको ूउज्यालो नेपालू को पर्यायवाची नाम हो कुलमान घिसिङ । चार बर्से कार्यकालको अन्त्यतिर आउँदै गर्दा उक्त कार्यकाल थपिएन भने अबका केहिदिनपछी नेपाल बिद्युत प्राधिकरणबाट उनी बिदा हुनेछन् । जसरी उनको बिदा हुने दिन नजिकिँदै छ, त्यसरी नै तीव्र रूपमा उनको कार्यकाल दोहोरिनुपर्छ वा दोहोरिनु हुँदैन भन्ने दुबैखालका तर्कहरू आईरहेका छन् । अझ खासगरी जनस्तरबाट पूर्णरुपमा उनको पक्षमा आवाजहरू उठिरहेका छन् ।

यद्यपि, प्राधिकरणभित्र कस्तो वर्चस्व देखाए वा कार्यशैली कस्तो थियो ती छुट्टै व्यवहारिक पक्षहरूमा तथा बिद्युत् आयात निर्यात एवम् खपतका प्राविधिक बिषयहरुमा पनि म प्रवेश गर्न चाहन्न । तथापि, सामान्य बुझाईबाट प्राधिकरणको सेवालाई व्यवहारिक रूपले हेर्दा भइरहेको बिद्युत् क्षमताबाटै सिङ्गो नेपाल उज्यालो बनाउन सफल भएको देखिन्छ । यसमा पूर्ण रूपमा उनको देन छ ।

उनको कार्यकाल सङ्गै चुहावट घट्नु, खपत बढ्नु, बिद्युतको पहुँचमा बिस्तार हुनु, उत्पादन बढनुका साथै स्मार्ट वितरणतर्फ जाँदै गर्दा समानान्तर रूपमा थुप्रै राष्टहितका योजनाहरू प्रक्रियामा ल्याउनुले पनि उनको विषयगत दक्षतालाई थप पुष्टि गर्दछ । यसका अतिरिक्त उनको कार्यकाल अघिसम्म प्राधिकरण सञ्चालन खर्च पनि जुटाउन नसकेर निरन्तरताको घाटाले सञ्चित नोक्सानीमा भासिदै गर्दा उनको चार बर्से कार्यकालमा ३५ अर्व बराबरको घाटा भुक्तान गरी पाँच अर्व मुनाफा जम्मा गर्न सफल भएको तथ्य देख्न र पढ्न सकियो।

हिउँदमा १८(२० घण्टासम्म लोडसेडिङ खेपिरहेका आम नेपाली जनतालाईरउपभोक्तालाई पूर्ण राहत हुने गरी सेवा दिन सफल घिसिङ आम नेपालीको मन मस्तिष्कमा बस्न सफल भएका छन् । कार्य सम्पादन गर्न विषयगत दक्षता मात्र होइन इमानदारिता र दृढ इच्छाशक्तिसहित राष्ट्रिय भावनाले ओतप्रोत हुनु आवश्यक छ भन्ने पाठ उनीबाट सिक्न सकिन्छ । यसर्थपनि उनको कार्यकाल दोहोरिनुपर्छ । उनी जस्तै सबल, सक्षम, कुशल वा राष्ट्रिय भावनामा इमानदारिता रहेका ब्यक्तित्वहरु बिद्युत् प्राधिकरणमा मात्र नभएर सरकारका सबै अङ्गहरूमा आउनुपर्छ । यसमा राजनैतिक भागबन्डा वा पदीय गरिमालाई ब्यक्तिगत वा राजनैतिक स्वार्थका लागि किनबेच गर्नुहुँदैन र हुन पनि दिनुहुँदैन ।

Logo