काठमाडौं ।
यतिबेला बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण लगानी कसरी गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना भाइरसका कारण लगानी ठप्प हुँदा बैंकमा लगानी योग्य रकम (तरलता) मात्रै थुप्रिएको छ ।
कुनै बेला बैंकमा तरलता नभएर समस्यामा परेका बैंकर्स यतिबेला ऋण लिन आउ भन्दै बोलाउँदै गर्न थालेका छन् । कोरोना भाइरसको न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । करिब चार महिना लामो लकडाउनका कारण उद्योग व्यापार व्यवसाय, पर्यटन लगायतका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा प्रभावित भएका छन् । यस्तो अवस्थामा लगानीको वातावरण नै नभएपछि बैंकलाई लगानी कहाँ गर्ने भन्ने चिन्ता बढेको छ ।
कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएका कारण उल्लेख्य रुपमा कर्जा लगानी हुन नसकेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘कोभिडका कारण लगानीको वातावरण नै छैन, त्यसैले कर्जा जान सकिरहेको छैन ।’ अध्यक्ष दाहालले भने । तर पुर्ननिर्माण लगायतका काम सुचारु भइरहेका केही क्षेत्रमा भने कर्जा गइरहेको उनको भनाइ छ । २०७२ सालको बैशाखमा आएको महाविनासकारी भूकम्प तथा भारतले गरेको नाकाबन्दीका कारण पनि लगानी नहुँदा बैंकलाई यसरी नै लगानीको चिन्ता बढेको थियो । पछि विस्तारै आर्थिक क्रियाकलापहरु बढ्न थालेपछि विस्तारै ऋणको माग पनि बढेको थियो ।
अहिले केही समय स्थिति सहज नहुन्जेल ऋण लगानीमा समस्या नै देखिने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘कोरोनाको असर कम नभएसम्म लगानीको वातावरण बन्न गाह्रो छ ।’ प्रवक्ता भट्टले भने । उनका अनुसार अहिले बैंकिङ प्रणालीमा २ खर्ब रुपैंयाँ अधिक तरलता रहेको छ । कोरोनाका कारण अहिले सरकारी ढुकुटीमा १ खर्ब ९९ अर्ब थन्किएको छ । जबसम्म ढुकुटीको पैसा खर्च हुँदैन तबसम्म बजारमा सन्तुलन ल्याउन पनि समस्या हुन्छ ।
बैंकले ठूला ठूला योजना परियोजनामा लगानी गर्न सकेका छैनन् । तर बैंकहरुले लगानीका लागि विकल्प खोजिरहेका छन् । केही समय अघि अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा र गाडीमा लगानी गर्न विभिन्न योजनाहरु सार्वजनिक गरेका थिए ।
पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरे सँगै कर्जा लगानी पनि थप प्रभावित भएको छ । अहिले त बैंकले फालाफाल ऋण दिँदा पनि लिन आउने छैनन् । पछिल्लो समय काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाहरुमा कोरोनाको संक्रमण बढ्न थाले पछि सरकारले निषेधाज्ञा जारी गरेको छ । तत्काल एक साताका लागि भनिए पनि निषेधाज्ञा कहिलेसम्म हुने हो भन्ने यकिन छैन । जसका कारण कर्जा लगानीका हिसाबले आगामी दिनहरु झन विकराल हुने आँकलन बैंकर्सले गरेका छन् ।
बैंकर्स संघका अनुसार, साउन अन्तिमसम्म वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ७९ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेका छन् भने २८ खर्ब ७८ अर्ब रुपैंयाँ कर्जा लगानी गरेका छन् ।





























प्रतिक्रिया