‘समयमै होशियारी अपनाएर मुलुकलाई श्रीलंकाको बाटोमा जान दिएनौँ’ -अर्थमन्त्री शर्मा

‘समयमै होशियारी अपनाएर मुलुकलाई श्रीलंकाको बाटोमा जान दिएनौँ’ -अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दावी गरेका छन् । अर्थमन्त्री शर्माले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताएका हुन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठिरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको जिकीर समेत गरे । तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि बताए । 

उनले भने, ‘हामीले समयमै होशियारी अपनाएका कारणले नेपाल श्रीलंका नै हुन्छ, नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भनेर ठूल्ठूला आवाजहरु निस्किए । त्यसलाई हामीले आवश्यक नीति लिएर, होशियारी अपनाएर बिग्रन दिएनौं । नेपालको अर्थमन्त्री सुधारको बाटोमा अघि बढिरहेको छ । आर्थिक सूचकांकहरु सकारात्मक बन्दै गईरहेका छन । चाडपर्वको समय आएकाले रेमिटेन्स थपिने र खर्च पनि बढने अवस्था छ । तरलताको समस्या केही हदसम्म कायमै छ । यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएका छौं । निर्यात प्रवद्र्धनका लागि जुन नीतिहरु सरकारले निर्माण गरेको छ । त्यसलाई कार्यान्वयन गर्न प्रतिवद्ध हुन म व्यवसायीहरुलाई आग्रह गर्न चाहन्छु ।’ 

अर्थमन्त्री शर्माले निर्यात प्रवद्र्धन गर्नका लागि बनाइएको नीतिगत निर्णयहरु तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरे । 

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले कोभिड कालमा पाएका सेवा, सुविधाहरु सधैं नपाउनेतर्फ उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण गराए । उनले आर्थिक वृद्धिदर सँगसँगै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि स्पष्ट पारे । उपाध्यक्ष पौडेलले भने, ‘उद्योगी, व्यवसायीहरुले कोभिड कालमा पाएका सुविधाहरु सधैं पाउने अवस्था नरहन सक्छ । आर्थिक वृद्धिदर गर्ने भनेको रोजगारीको अवसर सृजना हुने गरी हो । त्यसलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धि र रोजगारीमा त्यसका पारेको प्रभावबारे तथ्यांक नै बनाउने तयारी गरिरहेको छ ।’
 
उपाध्यक्ष पौडेलले रोजगारी वृद्धिमा योगदान पु-याउन नसक्ने ढंगले भएका आर्थिक वृद्धिदरको कुनै अर्थ नहुने पनि पटकपटक दोहो-याए । 

Skip This
Skip This
Logo