दसैँका लागि ७० प्रतिशत हवाई टिकट बुकिङ

दसैँका लागि ७० प्रतिशत हवाई टिकट बुकिङ

केन्द्रबिन्दु
0
Shares

नजिकिरहेको नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसरमा आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न घर जानेहरुको लर्को लाग्दै छ । त्यसका लागि गन्तव्य टाढा हुनेहरुकाे छिटाे र सरल रुपमा पुग्नका लागि अहिलेदेखि नै हवाई टिकट बुकिङ सुरु भैसकेको छ । 

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार दसैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिसकेको छ । तर, जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने उनको भनाई छ । 

आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । दसैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने बताइएको छ । 

आन्तरिक उडानको महत्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ । बाँकी गन्तव्यमा पनि अधिकांश प्याक भइसकेको छ । विशेषगरी फुलपातिदेखि विजया दशमी टिकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् ।

 एयरलाइन्सले विभिन्न दररेटका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ । त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ । एयरलाइन्सले अनलाइनबाट वर्षभरी नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन् । यसले यात्रुलाई सहज रुपमा टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ । नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजया दशमी टिका रहेको छ ।

 

Logo