काठमाडौं ।
विश्व आठ महिना अगाडिदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चपेटामा परेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि पाँच महिनासम्म विश्व नै लकडाउन भएको थियो । यसरी गरिएको लकडाउनले अर्थतन्त्रलाई चलायमान बनाउन अधिकांश उद्योेग कलकारखाना बन्द भएकाले विश्व अर्थतन्त्र नै तहसनहस भएको छ ।
कोरोना प्रभावबाट नेपाल पनि अछुतो रहेको रहेको छैन । कोरोना भाइरस रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म १२० दिन लामो लकडाउन गरेको थियो । तर सरकारले साउन ६ गतेदेखि लकडाउनको अन्त्य गरेसँगै काठमाडौं उपत्यका लगायत देशैभर कोरोना संक्रमितको संख्या बृद्धी हुँदै गएको छ ।
दैनिक जसो कोरोना बढ्दै गएकाले पुनः ४३ जिल्लामा एक साताका लागि निषेधाज्ञा लागू भएको छ । यसले गर्दा मुलुकभर सञ्चालनमा आएका उद्योगधन्दा, व्यापार व्यवसाय, होटल र रेष्टुरेन्टहरु बन्द भएका छन् भने यता लकडाउनको अवधिमा काठमाडौं उपत्यकाबाट गाउँघर गएका कतिपय मानिसहरु उपत्यका फर्किएका छैनन् ।
यसले गर्दा कोरोना कहर ग्यास उद्योगमा पनि परेको छ । सबैभन्दा धेरै ग्यास खपत हुने होटल, रेष्टुरेन्ट, उद्योगधन्दाहरु बन्द भएकाले ग्यास उद्योगको बजार पनि गिरावट हुदै गएको छ । सामान्य अवस्थामा उपत्यकामा खपत हुने ग्यास खपतमा कोरोना कहरसँगै २५ प्रतिशतभन्दा बढीले गिरावट भएको ग्यास उद्योगीहरुले बताएका छन् ।
यसरी कोरोना रोकथामका लागि लकडाउन तथा पछिल्लो निषेधाज्ञामा काठमाडौं उपत्यका लगायत देशै भरका होटल, रेष्टुरेन्ट र उद्योग बन्द हुँदा ग्यास उद्योगीहरुको बजारमा गिरावट आउन थालेकाले उद्योगीहरुले ग्यासको व्यापार बढाउनको लागि एक अर्का उद्योगीबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।
झण्डै २५ प्रतिशत भन्दा बढी बजार हिस्सामा गिरावट आएपछि उद्योगीले एकले अर्काको सिलिण्डर कुनै पनि शुल्क नै नलिइ सट्टा गर्न थालेका छन् । यस्तो प्रतिस्पर्धाले सिलिण्डरको मूल्य पनि १२ सय रुपैयाँमा झरेको छ । अहिले कुनै पनि कम्पनीको सिलिण्डर डिस्टीब्युटर्सले १२ सय रुपैयाँमा किन्ने गरेका छन् । तर त्यही सिलिण्डर उद्योगीले किन्दा २१ सय रुपैयाँ पर्ने गरेको व्यवसायीले बताएका छन् ।

कोरोना महामारीले ग्यास खपतमा गिरावट आएको अवस्थामा आफ्नो व्यापार बढाउनको लागि गरिएको अस्वस्थ प्रतिस्पर्धाका कारण उद्योगीले एउटा सिलिण्डरमा ८ सयसम्म घाटा खेप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।
उनका अनुसार कोरोना संक्रमण देखिएको सुरुको केही समय ग्यास बिक्री राम्रै भएको तर सरकारले कोरोना रोकथामको लागि लगाएको लकडाउन पश्चात केही महिनापछि ग्यासको खपत घट्दै गएको छ । उनले भने, ‘होटल, रेष्टुरेन्ट र ग्यास खपत गर्ने उद्योग नै बन्द भएपछि एकले अर्काको सिलिण्डर खोसेर आफ्नो बजार विस्तार गर्ने प्रतिस्पर्धा हुन थालेका छ ।’
यस्तो अवस्थामा यसरी प्रतिस्पर्धामा लाग्नु व्यवसायीहरुलाई नै बेफाइदा हुन्छ । बेफाइदा मात्रै नभएर यो अस्वस्थ प्रतिस्पर्धा रोक्न सकिएन भने उद्योगी नै संकटमा पर्ने उनको भनाइ रहेको छ ।
यसरी उद्योगीले घाटा खाएर बिक्री गरिरहेको सिलिण्डर उपभोक्ताले भने महंगो मूल्य नै तिरिरहनु परेको छ । उद्योगीले ८ सय घाटा खाएर बिक्री गरेको सिलिण्डर उपभोक्ताले भने पुरानै मूल्य २२ सय रुपैयाँमा किनिरहेका छन् । अब संघले यस विषयमा भर्चुअल बैठक गरेर सिलिण्डरको मूल्य तोक्ने र त्यो मूल्यभन्दा कममा बिक्री गरे कारवाही गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।
यस भन्दा अगाडि बजारमा ग्यास सट्टा गर्दा उपभोक्ताले एउटा सिलिण्डरमा ३ सय देखि ५ सय रुपैयाँ बढी तिर्ने गरेका थिए । यस्तो सिलिण्डर सट्टा पट्टा गर्ने कुनै पनि कम्पनी नै खडा नगरी सिलिण्डर उठाउने गिरोह नै सक्रिय रहेको ग्यास उद्योगीहरुले नै बताउन थालेका छन् ।
यसै सन्र्दभका नेपाल एल.पी ग्यास उद्योग संघले आज एक विज्ञप्ती जारी गर्दै जथाभावी रुपमा कानुन विपरित सट्टा पट्टा गरिरहेकाले यस्तो नगर्न आग्रह गर्दै यस्तो गरेमा कानुन अनुसार कारबाही गरिने सूचना मार्फत जनाएको छ ।





























प्रतिक्रिया