नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ ।
नाडा अटोमोबाइल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन गरी साे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । मेलामा ५१ वटा स्टल रहने भएका छन् ।
भृकुटीमण्डपमा हुने मेलामा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारी लिन पाइनेछ । मेलामा ७ ब्राण्डका चार पांग्रे, १६ ब्राण्डका दुई पांग्रे, एउटा तीन पांग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शन रहनेछ । तीबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि मेलामा रहनेछन् ।
मेलामा यूएसएआईडी क्लिन एयरले नलेज पार्टनरको रुपमा तीन दिने गोष्ठी समेत सञ्चालन गर्नेछ। एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स रहेको छ। यस्तै, डिजिटल पेमेन्ट पार्टरमा खल्ती एप पनि रहेको छ।
मेलामा प्रवेश गर्दा विद्यार्थीका लागि टिकेट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ । ४ दिनसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।
सरकारले कार, जीप र भ्यानको आयातमा प्रतिबन्ध लगाएपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको थियो । वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गइ देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।































प्रतिक्रिया