विराटनगर भन्सार कार्यालयबाट लक्ष्य अनुसार राजस्व उठ्न सकेन

विराटनगर भन्सार कार्यालयबाट लक्ष्य अनुसार राजस्व उठ्न सकेन


मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको जनाएको छ ।  

चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको कार्यालयले जनाएको छ । यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । 

जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।  

यस्तै चालु आर्थिक वर्षको साउन र भदौ महिनामा विराटनगर भन्सार कार्यालयबाट निर्यातको तुलनामा आयात ४ गुणा बढी देखिएको छ । साउन महिनामा विराटनगर भन्सार कार्यालयबाट १६ अर्ब ३५ करोड ४४ लाख १३ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ८० करोड १२ लाख ३८ हजारको मात्रै भएको छ ।

यस्तै भदौ महिनामा १७ अर्ब ५७ करोड ६० लाख ६९ हजारको वस्तु आयात हुँदा निर्यात भने ४ अर्ब ७ करोड ५१ लाख ९५ हजार रुपैयाँको मात्रै भएको तथ्यांक छ । 

Logo