सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ ।
बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मिनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए । उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताए ।
अध्यक्ष तामाङले तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको बताए ।
उनले भने, ‘नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेका छौं । विशेष गरेर भ्यालेन्टटाइन डे, तिहार र जाडो मौसममा प्रतिकुल रहने हुँदा केही फूल आयात गर्न बाध्य छौं । नेपालमा अहिलेसम्म कुनै पनि हाईब्रिट बीउको स्रोत नभएको र टिसु कल्चरबाट बीउहरु उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यसको लागि दोस्रो तेस्रो मुुलुकसँग निर्भर पर्नुपर्ने अवस्था रहेको छ । यो विषयमा सरकारले चासो राख्नुपर्ने माग रहेको छ । अझै १० वर्षसम्म १० प्रतिशत आयात गर्नुपर्ने अवस्था कामय रहन्छ । अनियन्त्रित रुपमा पर्वहरुमा फूलको आयात भइरहेको छ त्यसमा सरकारको ध्यान जान आवश्यक छ । सयपत्री फूलमा ८५ प्रतिशत माग पूरा गर्ने फूलको उत्पादन हुँदा हुँदै विभिन्न नाकाहरुबाट आउने फूलहरु यो वर्ष रोकिएको छ । सरकारले प्लाष्टिक जन्य फूलहरुको बिक्री वितरण सूचना प्रकाशित गरेर मात्रै नियन्त्रण हुने अवस्था देखिएको छैन । त्यसको लागि सरकारले बजार अनुगमन गरेर प्रतिवन्ध गर्न सरकारसँग माग गर्दछु ।’
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए । उनले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताए ।
अध्यक्ष गोल्छाले पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले पुष्प व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने बताए । पुष्प व्यवसाय थप विकास र बिस्तार गर्नको लागि सरकारले पूर्वाधार विकासमा लगानी गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
उनले भने, ‘नेपालमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूल उत्पादन गर्न सकिन्छ । नेपालले निर्यातमुखि उत्पादन गर्नुप¥यो । नेपालमा समृद्ध कृषकहरु कम देखिएको छ । पुष्प व्यवसायीहरुले समृद्धि ल्याउन सक्छन् । यो व्यवसायबाट समृद्धि आउनसक्छ । पुष्प व्यवसायीमा लगानीको प्रतिफल बढी हुनसक्छ । पुष्प व्यवसायको सम्भावना देशमा मात्रै नभएर अन्तराष्ट्रिय रुपमा पनि हुनसक्छ । नेपालमा उत्पादन भएको वस्तु भनेर नेपालका वस्तुको विश्वमा ठूलो सम्भावना रहेको छ । तर नीतिगत,प्रविधि र लगानीको रुपमा नेपाल चुकेको छ । ६ अर्बको लगानी पुष्प व्यवसायमा रहेको छ । लगानी बढाउन सकिन्छ । सरकारले पुष्प व्यवसायको लागि आवश्यक पूर्वाधार विकास गर्न जरुरी रहेको छ । सरकारले लगानी गर्नुपर्छ पुष्प व्यवसायमा ठूलो सम्भावना रहेको छ । मुलुकको आर्थिक समृद्धि किसानहरुको माध्यमबाट हेर्न जरुरी रहेको छ । हामी उच्च भ्यालु एडिटमा जानु जरुरी रहेको छ । कम भ्यालुको कृषिले कसैलाई पनि समृद्ध बनाएको छैन । नेपालबाट फूलको निर्यातको सम्भावना ठूलो रहेको छ । मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको छ । शोधनान्तर अवस्था कमजोर भएको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर रुपमा कम हुँदै गएको छ । त्यसले गर्दा बजारमा ठूलो तरलताको अभाव देखिएको छ । पुष्प उच्च भ्यालु एडिशन गरेर निर्यात गर्दा अर्थतन्त्रमा ठूलो योगदान गर्नसक्छ ।’
कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरुलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताए ।
उनले भने,‘फूलको उत्पादन र माग बढ्दै गएको छ । नयाँ नयाँ फूलहरुको माग हुन्छ । हाम्रो वनजङ्गलमा रहेका छन् । तिनीहरुलाई व्यवसायीक रुपमा ल्याउन सक्नुपर्छ । त्यसको लागि अनुसन्धान जरुरी रहेको छ । मेलाहरुले फूलहरुको माग र व्यवसाय बढाउनमा सहयोग पुग्छ । पुष्प व्यवसाय बिस्तार र बजारिकरणको लागि निजी क्षेत्र र सरकार समन्वय गर्ने नीति लिनुपर्छ । सरकारले फूल आयात निर्यातको लागि आवश्यक नीति कहाँ परिर्वतन गर्नुपर्छ त्यो गर्न तयार छ । त्यसले गर्दा पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुनसक्छ ।’
त्यस्तै कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मिनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने बताए ।
उनले भने, ‘फूलैफूलको पर्व तिहार बाहेक अन्य समयमा पुष्प व्यवसायमा आत्मनिर्भर बनेको छ । अब मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै हुँदैन । पुष्प व्यवसायलाई मुलुकभित्रै आय आर्जन बढाउने उद्योगका रुपमा विकास गर्नुपर्छ । सरकारले पनि यो विषयमा सोच्नुपर्ने हुन्छ । नेपाली वन जङ्लमा फूलेका राम्रा फूलहरुलाई व्यवसायी करण गर्न सकियो भने पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्छ । सिनेमा बनाउँदा सुटिङ गर्दा समेत फूल नभएको सिन नहुँदा सिनेमा समेत राम्रो बन्दैन ।’
पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ ।
गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।































प्रतिक्रिया